शनिबार, वैशाख २६, २०८३

आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा

मेरोन्यूज २०८२ वैशाख ९ गते ७:२१

जुम्ला । सगरमाथा संवादको तयारीको लागि जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।

Advertisement
NiccNicc

सोमबार जुम्लामा पत्रकार सम्मेलन आयोजना गर्दै संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तर्राष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताए ।कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशकसमेत रहेका शाहीले कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका युवा सहभागी हुने जानकारी दिए ।

उनले भने, ‘यहाँका बालबालिका, युवा, तथा पछाडि परेका समुदायको सहभागिता रहने छ ।’ जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२ जुम्लामा आयोजना गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक शाहीले बताए ।कार्यक्रममा वातावरण विज्ञ, नीतिनिर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले जनाएको छ ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीतिनिर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया