बुधबार, फागुन २७, २०८२

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति

मेरोन्यूज २०८२ वैशाख १४ गते १५:२९

नेपालगन्ज। बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट ४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रारम्भिक अनुमान छ।

Advertisement
nepal life insurencenepal life insurence


आगालागीबाट औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा. निराजन सुवेदीले जानकारी दिए। उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।


समितिले ४ दिनभित्र प्रतिवेदन बुझाउने छ। आगलागीका कारण आइतबार र सोमबार भेरी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा. सुवेदीले जनाएका छन्। आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले काम गर्न असहज हुने देखिएपछि ओपीडी सेवा बन्द गरिएको हाे।


औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महंगो मूल्यपर्ने भ्याक्सिनलगायत सामाग्री जल्दा ओपीडी सेवा प्रभावित भएको सुवेदीले बताए। उनका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्।

शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू थिएनन्। जसले गर्दा मानवीय क्षति हुन पाएन। आगलागी भएलगत्तै दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको अस्पतालले जनाएको छ।

आगलागीको कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागी नियन्त्रण गर्न करिब २ घण्टा लागेको थियो।

प्रतिक्रिया