भारतीय होटलमा आगलागी, १५ जनाको मृत्यु

भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।
होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मङ्गलबार साँझ आगलागी भएपछि बताए।
“दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ”, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।”
आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ ।
करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।
भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् ।
गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो ।
कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।
कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ ।
वर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् । “घाइतेहरू चाँडै निको होउन्”, उनको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।
एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो । पश्चिम बङ्गाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ ।










सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया