शनिबार, वैशाख २६, २०८३

सेयर बजारमा उच्च अंकको वृद्धि

मेरोन्यूज २०८२ वैशाख २४ गते १६:०९

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ६२ दशमलव २५ अंकले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो। यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो।

Advertisement
NiccNicc

आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ। तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा रू १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ। बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ। 

उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रू ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको शेयर किनबेच भएको छ। कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया