बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गरेका हुन् ।
निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए । सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउछन् । “साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त”, भन्ने प्रश्नमा खनाल भन्छन्, “कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेखेका पटकथामा हरेक जानकारीलाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरुरी छ ।”
उनले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरु गरेको बताए । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।
निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।
“मैले मन छुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकि यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।
अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए। आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन् ।
“पात्रलाई चलचित्रमा जसरी सुरुआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, उनले भने ।
‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकसँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्ग्यानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्ग्यानिक’ हुने उनको बुझाइ छ ।
“हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्ग्यानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकि गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्ग्यानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ”, अभिनेता लामिछानेले भने ।
यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा छिन् । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताइन् “डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो”, उनले भनिन् ।
चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया