शनिबार, फागुन २३, २०८२

इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

मेरोन्यूज २०८२ वैशाख २९ गते ८:४९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहित पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गौतमबुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उनले इतिहासको रथलाई पश्चगमनतर्फ नभइ प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उनको भनाइ छ ।

उनले भनेका छन्– ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार क्रान्तिको सूत्रपात गरेका थिए, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भनेका छन्– ‘गौतमबुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशिताकाे आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।’

प्रतिक्रिया