बुधबार, फागुन १३, २०८२

गैँडाकोट पालिकामा निषेधाज्ञा जारी, सबै सेवा बन्द

मेरोन्यूज २०७८ वैशाख २२ गते १४:१६

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले आजदेखि अर्को सूचना जारी नभएसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भीडभाड, सभासम्मेलन, समारोह, भेलाजस्ता कार्यहरू नगर्नसमेत स्थानीयवासीलाई आग्रह गरे । ‘नयाँ भेरियन्टसहित फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ,’ पौडेलले भने, ‘निषेधाज्ञा अवधिभर गैँडाकोट नगरपालिकाबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका छौँ ।’

जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी संक्रमित गैँडाकोट नगरपालिकाभित्र रहेका भन्दै उनले निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय नवलपरासी अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले सक्रिय संक्रमितमध्ये गैँडाकोट नगरपालिकामा मात्रै १४६ जना रहेका जानकारी दिए ।

त्यस्तै, कावासोतीमा १०८, विनयी त्रिवेणीमा ५०, मध्यविन्दु र देवचुलीमा ३४÷३४, हुप्सेकोटमा २२, बौदिकालीमा दुई र बुलिङटारमा एकजना सक्रिय संक्रमित रहेका चापागाईंले बताए । जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका भन्दै चापागाईंले मंगलबार १० जना संक्रमित निको भएका जानकारी दिए ।

हाल जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा गरी जम्मा ६१ श्ययाको आइसोलेशन रहेको चापागाईंले बताए । मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा १७, हुप्सेकोट गाउँपालिकामा १०, मध्यबिन्दु नगरपालिकामा नौ तथा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकामा ५÷५ श्ययाका आइसोलेशन केन्द्र रहेको चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया