लिम्बू समुदायको ऐतिहासिक समाधिस्थलः चारसुरे डाँडा

फिक्कल (इलाम) । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय । आफूलाई पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्दै आएका लिम्बू समुदायको छुट्टै संस्कार छ । उनीहरुको जन्मदेखि मृत्युसम्मका आफ्नै संस्कार र संस्कृति छन् ।
त्यसमध्ये एक संस्कार हो, मृत्युपछि दाहसंस्कार गर्ने । लिम्बू समुदायको मृत्युपश्चात एक निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा छ । उनीहरुले सयौँ वर्षदेखि कुनै निश्चित क्षेत्रलाई समाधिस्थलका रुपमा संरक्षण गर्दै आफ्ना आफन्तको मृत्यु भएपछि सोही समाधिस्थलमा दाहसंस्कार गर्ने र चिहान बनाउने गर्दै आएका छन् ।
यसरी स्थानीय लिम्बू समुदायले सयौँ वर्षदेखि सामूहिक दाहसंस्कारका लागि समाधिस्थलका रुपमा संरक्षण र प्रयोग गर्दै आएको ऐतिहासिक स्थल हो, ‘चारसुरे डाँडा’ । इलामको माङ्सेबुङ गाउँपालिका–१ इभाङमा अवस्थित ‘चारसुरे डाँडा’ एक ऐतिहासिक, सांस्कृतिक र धार्मिकस्थलका रुपमा रहेको छ । यो समाधिस्थल केवल मृतकको अन्तिम विश्रामस्थल मात्र होइन, लिम्बू समुदायको सांस्कृतिक पहिचान, धार्मिक विश्वास र ऐतिहासिक स्मृतिको केन्द्रका रुपमा स्थापित छ ।
मुख्य कालोपत्रे ‘गजुरमुखी–इभाङ–चतुरे’ सडकसँगै जोडिएको चारसुरे डाँडा करिब सात रोपनी क्षेत्रमा फैलिएको छ । अर्को धार्मिक क्षेत्र गजुरमुखी धामदेखि इभाङ हुँदै पर्यटकीय क्षेत्र माङमालुङ पुग्ने पुरानो मूलबाटो (पदमार्ग) को दायाँ र बायाँतर्फ गोहीको आकारमा फैलिएको छ । चारसुरे डाँडामा सयौँ वर्षदेखि भर्खरै निर्माण गरिएका चिहानसँगै वरपीपलका रूख र वरिपरिका हरियाली वातावरणले जो कोहीलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।
चारसुरे डाँडा नामाकरणको आफ्नै इतिहास छ । चारसुर मिलाएर ढुङ्गाको पर्खाल लगाएर तत्कालीन समयमा पैदल उकाली–ओराली गर्ने यात्रीहरुलाई विश्राम गर्ने थलो (चौतारी) निर्माण गरिएकाले त्यस ठाउँको नामाकरण चारसुरे रहन गएको किंवदन्ती छ । चिहानै चिहान भएको ठाउँमा समेत मूल बाटो (पदमार्ग) पर्ने भएकाले त्यतिबेलाका बुढापाकाले पदयात्रीलाई लक्षित गरी विश्रामस्थल बनाएको स्थानीयको भनाइ छ ।
स्थानीय ‘जवेगू’ र ‘सम्बाहाम्फे’ दुई थरका लिम्बूहरुले चारसुरे डाँडालाई सयौँ वर्षदेखि साझा समाधिस्थलका रुपमा संरक्षण र प्रयोग गर्दै आएका छन् । ‘यहाँ अन्य थरीका लिम्बूहरु पनि बसोबास गर्छन् । तर, जवेगू र सम्बाहाम्फेले मात्र यस क्षेत्रलाई आफ्नो सामूहिक समाधिस्थलका रुपमा सयौँ वर्षदेखि संरक्षण र प्रयोग गर्दै आएका छन्,” स्थानीय पृथीमान जवेगू भन्छन्, “यस क्षेत्रलाई हामीले मात्र होइन, राज्यलै नै सांस्कृतिक सम्पदाका रुपमा विकास गरेर संरक्षण गर्नुपर्छ ।”
लिम्बू परम्पराअनुसार मृत्युपश्चात् चिहान निर्माण गरिन्छ । चारसुरे डाँडामा नयाँ पुस्ताको सय हाराहारी र साढे २०० वर्षसम्म पुराना ५०० को हाराहारीमा चिहानहरु छन् । यस स्थलमा रहेका चिहानहरु प्राचीन ढुङ्गाबाट निर्मित, विशिष्ट शैलीमा सजिएका छन् ।
चारसुरे डाँडा वरपर आधा दर्जन काठ र जस्तापाताले बनाएका विश्रामस्थल (टहरा) समेत छन् । जहाँ, दाहसंस्कारका बेला आएका मलामी र बाटोमा पैदल हिँड्डुल गर्ने यात्रीले विश्राम गर्ने गर्दछन् । यी विश्रास्थल पनि मृतकका नाममा उनीहरुका आफन्तहरुले निर्माण गरेका हुन् ।
‘यस स्थलका रहेका समाधिस्थलहरु लिम्बू समुदायको इतिहासको अमूल्य साक्षी हुन् । हाम्रै पुर्खाको मात्र सात पुस्तासम्मको चिहान यहीँ छ, कतिपय त भग्नावशेष मात्र बाँकी छन्,” जवेगू भन्छन्, “चारसुरे जस्तो सांस्कृतिक सम्पदा हाम्रो पहिचानको अभिन्न अङ्ग हो, जसलाई संरक्षण गर्न राज्य पनि लाग्नुपर्छ ।” राज्यले नै त्यस क्षेत्रको सीमाङ्कन र रेखाङ्कन गरी सांस्कृतिक सम्पदाको रुपमा संरक्षण र विकास गर्नुपर्ने उनको भनाइ छ ।
चारसुरे समाधिस्थल लिम्बूहरुको धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रुपमा रहेकाले उनीहरुको इतिहास र परम्पराको जगेर्ना गर्ने स्थलका रुपमा विकसित गर्नुपर्ने अर्का स्थानीय प्रेम सम्बाहाम्फे बताउँछन् । “स्थानीय आदिवासी लिम्बूहरुको इतिहास र परम्पराको जगेर्ना गर्नका लागि पनि यस क्षेत्रको संरक्षण गर्न आवश्यक छ,” उनी भन्छन्, “त्यसका लागि सरकार र स्थानीय सरोकारवालाबीच सहकार्य पहिलो सर्त हो ।”
निकै पुराना चट्टानका चौतारा तथा ठूलठूला वर र पीपल रहेको चारसुरे डाँडाबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका बस्तीहरु, हरियाली फाँटहरु एकैसाथ देखिन्छन् । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमालसमेत देख्न सकिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले स्वर्गीय आनन्द प्रदान गर्ने गर्दछ । भौगोलिक बनावटका कारण चारसुरे डाँडाले प्रकृतिप्रेमी र फोटोग्राफरहरुलाई विशेष आकर्षित गर्ने गर्दछ ।
यस क्षेत्रलाई स्थानीय लिम्बू समुदायले सयौँ वर्षदेखि संरक्षण र प्रयोग गर्दै आएका छन् । तर यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले कुनै चासो राखेको पाइएको छैन । बरु, गैरलिम्बू समुदायको साथ र सहयोग गज्जबको छ । चारसुरे डाँडा आसपासमा बसोबास रहेका गैरलिम्बू समुदायको समाधिस्थल संरक्षणमा सक्रिय सहभागिता रहँदै आएको छ ।
स्थानीय रेडस्टार क्लबको अगुवाइमा चारसुरे डाँडामा नियमित सरसफाइ र वृक्षरोपण हुँदै आएको छ । स्थानीय समाजसेवी रामबहादुर कार्कीले व्यक्तिगत लगानीमा चारसुरे डाँडामा खानेपानीको धारा समेत जडान गरिदिएका छन् । यसले सामाजिक सद्भाव बलियो बनाउनाका साथै सांस्कृतिक सम्पदा संरक्षणमा एकजुट बनाउन सहयोग पु¥याएको उनको भनाइ छ ।
राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनले सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष प्राथमिकता दिएको छ । नेपालको संविधान, २०७२ को धारा १८, ३२ र ४२ ले आदिवासी तथा जनजातिका मौलिक हकको व्यवस्था गरेको छ । यसैगरी, धारा ५१ को खण्ड (ञ) को (८) ले आदिवासी जनजातिको पहिचानसिहत सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरुमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवहरुलाई संरक्षण र संवद्र्धन गर्ने भनी सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिमा उल्लेख छ ।
अन्तरराष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ ने आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार पूर्ण रुपमा उपयोग गर्न पाउने अधिकार सुनिश्चत गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार घोषणापत्रले धार्मिक स्वतन्त्रता र सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रुपमा मान्यता दिएको छ भने युनेस्कोको विश्व सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण महासन्धिले सांस्कृतिक सम्पदाको संरक्षणका लागि ठोस मापदण्डहरु स्थापित गरेको छ । तर, त्यस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनी व्यवस्थाले चारसुरे डाँडालाई छोएको छैन ।
कानुनले नै सम्पदाको संरक्षणमा अधिकार सुनिश्चित गरेकाले यस्ता सांस्कृतिक पक्षको संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने सांस्कृतिक अभियान्ता किरात याक्थुङ चम्लुङका पूर्वकेन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू बताउँछन् । “समाधिस्थल आदिवासीहरुको आस्था, विश्वास र संस्कृतिसँग जोडिएको हुन्छ । यसलाई जस्तो छ, त्यस्तै रुपमा रुपमा हुन दिनुपर्छ,” उनी भन्छन्, “बरु राज्यले नै रेखाङ्कन र सीमाङ्कन गरेर समाधिस्थलको क्षेत्र छुट्याएर संरक्षित गरेर राख्यो भने संस्कृतिको संरक्षणमा राज्यको योगदान देखिनेछ ।” समाधिस्थल नै नरहे संस्कृति नै मर्ने उनको भनाइ छ ।
पछिल्लो समय विकास निर्माणका बहानामा राज्य पक्षबाट नै समाधिस्थलहरु भत्काउने तथा मास्ने क्रम बढेको भन्दै त्यस्ता क्षेत्रहरुको संरक्षण गर्न लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले सरकारको ध्षयानाकर्षण गराउँदै आएको छ ।
चारसुरे डाँडालाई सरकारले औपचारिक रुपमा संरक्षित सम्पदाको सूचीमा समावेश गरी कानुनी संरक्षण प्रदान गर्न आवश्यक रहेको किरात याक्थुङ चुम्लुङ इलाम अध्यक्ष बुद्धाया सोङ्मी बताउँछन् । ‘चारसुरे चिहानडाँडा संरक्षणमा राज्यका तर्फबाट आवश्यक बजेट विनियोजन, कानुनी संरचना र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्दछ,” उनी भन्छन् ।
चारसुरे डाँडालाई सांस्कृतिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरेर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धन गरिने बताए ।
“यसले लिम्बू समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्न र एकताको भावना बलियो बनाउन मद्दत गरेको छ,” अध्यक्ष राईले भने, “यस वर्षदेखि हामी नीति तथा कार्यक्रममा नै समावेश गरी योजनाबद्ध रुपमा यहाँको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धनको काम गर्नेछौँ ।” गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ चारसुरे डाँडा समाधिस्थललाई सांस्कृतिक सम्पदाका रुपमा संरक्षण गर्ने प्रयास भइरहेको बताउँछन् । “चारसुरे डाँडा समाधिस्थल संरक्षणका लागि पालिका र समुदायबीच सहकार्य आवश्यक छ,” उनले भने, “स्थानीय समुदायसँग छलफल गरेर आगामी कार्ययोजना बनाउनेछौँ ।”
धार्मिक र सांस्कृतिक महत्वलाई दृष्टिगत गरी सबै सरोकारवालाको सहभागितामा उचित योजना बनाई पर्यटन विकास गर्न सकिने वडा अध्यक्ष कृष्णबहादुर बस्नेत बताउँछन् । चारसुरे डाँडालाई सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन समग्र, योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ ।
चारसुरे डाँडाको सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि समाधिस्थल क्षेत्रको घेराबारा, व्यवस्थित खानेपानी, शौचालय, इन्टरनेटजस्ता आधारभूत कामको थालनी स्थानीय स्तरबाट गर्नुपर्छ । त्यस्तै, सरकारका तर्फबाट चारसुरे डाँडाको सांस्कृतिक विशिष्टतालाई मध्यनगर गर्दै त्यस क्षेत्रको संरक्षण र संवद्र्धनका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।
चारसुरेमा रहेका पुराना चिहानहरुले यहाँका समुदायको इतिहास बुझ्न सहयोग गरेको छ । चिहानहरुमा जातीय पहिचान, संस्कार र धार्मिक विश्वास झल्कन्छन् । स्थानीय लिम्बू समुदायले यो क्षेत्रलाई आफ्नो ऐतिहासिक पहिचानका रुपमा लिन्छन् । यसले ती समुदायका सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई बलियो बनाएको छ । यसको अन्य सम्भावनालाई समेत योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्दै जिल्लाकै एक सांस्कृतिक सम्पदाका रुपमा विकास गर्न सकिन्छ ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया