बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

तनहुँ। हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ ।
यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौँलगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन् । यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा डेढ करोड बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम सुरुआत गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ ।
पहराको ढुङ्गामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ ।
गाउँपालिकाले आर्थिक वर्षको २०८१/८२ साउनदेखि वैशाखसम्म ४२ लाख आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई ५० र बाह्य पर्यटकलाई १०० शुल्क कायम गरेको छ ।
अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक ४६ हजार ५०० मा भाडामा लगाएको छ ।
गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा ४६ हजार ३०० रकम सङ्कलन भएको थियो । उनले भने, “उक्त रकम अहिलेसम्मकै धेरै रकम सङ्कलन भएको हो, अन्य दिनमा कम्तीमा ८/१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ ।”
आगामी वर्ष वार्षिक रु एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उनले भने, “पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।”
गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ । आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ ।
पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

















मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया