हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम। फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासि अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो ।
आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उनमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यही बेला कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम सुरु भयो ।
केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उनी सुनाउँछन् ।
‘प्रक्रिया पुर्याएर कागजात पेस गरेको थिएँ, एक लाख रुपैयाँ अनुदान प्राप्त भयो, त्यहीँ अनुदानबापत प्राप्त भएको नगद लगानी गरेर काठ र फलफूलका बिरुवा रोपेको छु’, घिसिङले भने ।
अनुदान आएपछि रोपेका काठ र फलफूल घिसिङको बगानमा धमाधम हुर्किंदैछन् । उनले ४५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा अलैँचीसँगै ओखर, हलुवावेद जर्मन नस्पाती र खुर्पानीलगायत बिरुवा रोपेका छन् । उनको बगानमा यतिबेला ती बिरुवा धमाधम हुर्किइरहेका छन् । ‘प्रदेश वन विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७९/८० मा प्राप्त एक लाख रुपैयाँ अनुदान सहयोगमा रोपेका बिरुवाले बगान हरियाली भएको छ’, घिसिङले थपे ।
फेदाप गाउँपालिका–६ इसिबु घर भएका ६६ वर्षीय घिसिङ प्रायः आफूले रोपेका काठ, फलफूल र अलैँचीका बिरुवा गोडमेल गर्न व्यस्त भेटिन्छन् । उनको नाममा दर्ता भएको कृषि फार्ममा उन्नत जातका सुन्तला, बोधिचित्त, ओखरजस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । ती बेर्ना तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट आएका किसानले किनेर लैजान्छन् ।
उनले ५० वटा बोयर जातका बाख्रासमेत पालेका छन् । अलैँचीखेती, बेर्ना उत्पादन र बाख्रापालनबाट वार्षिक १० लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको उनी सुनाउँछन् । ‘सात जनाको परिवार यहीँ आम्दानीले धानेको छ, उत्तिसका गोलिया हुर्केपछि बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ, त्यो पैसा कृषि उद्यममै लगानी गर्ने योजना छ’, उनले भने ।
पुस्तौँदेखि कृषिकर्म गर्दै आएका उनले कोसी प्रदेश सरकार मातहतको डिजिजन वन कार्यालयबाट बिरुवा रोप्न पहिलो पटक अनुदान पाएका हुन् । ‘उजाड हुन लागेका कान्ला भित्तामा बिरुवा रोप्ने अनुदान पाइयो, धमाधम हरियाली फर्कंदैछ, पाखुरा बजार्नेहरुलाई पनि प्रदेश सरकारले हेर्दोरहेछ’, उनले भने ।
केशरबहादुर जस्तै तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका ऋषिबहादुर थापाले पनि ४० रोपनी क्षेत्रफलमा अलैँची र उत्तिसका बिरुवा रोपेका छन् ।
पाँच वर्षअघि पाँच लाख रुपैयाँको उत्तिसको गोलिया बेचेका उनले प्रदेश सरकारको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रममार्फत एक लाख रुपैयाँ अनुदान पाएपछि पुनः उत्तिसका बिरुवा रोपेका हुन् । ‘दुई वर्षअघि रोपेको उत्तिस बगान मज्जाले हुर्कंदैछ, चार–पाँच वर्षपछि बगान हुर्कन्छ, अनि फेरि गोलिया बेच्ने हो’, उनले भने ।

















टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया