बुधबार, मंसिर १०, २०८२

चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपालमा, ईभी गो नेपाल आधिकारिक बिक्रेता

मेरोन्यूज २०८२ भदौ ८ गते १७:१८

चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो ।

कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन् । चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी (चाइना) लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

अक्वेल ईभी चाइना र ईभी गो नेपालबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो । अक्वेलले कमर्सियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ । ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ ।

अक्वेल ब्रान्डका विद्युतीय कमर्सियल सवारी ७० भन्दा बढी देशहरूमा बिक्री हुँदै आइरहेको छ । अब अक्वेलका विद्युतीय कमर्सियल सवारी ईभी गोमार्फत नेपालमा उपलब्ध हुने भएको छ ।

सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपालका प्रबन्ध निर्देशक अनुपकुमार बरालले जानकारी दिए । यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी कम्पनीले गरेको छ । कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ ।

अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ । अक्वेलको आफ्नै आरएन्डडी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ ।

अक्वेल ब्रान्डको मुख्य विशेषताको रूपमा सवारी उत्पादनसँगै स्पेयर पार्ट्समा स्पेसियालिटी रहेको छ । चीनका अन्य विद्युतीय कमर्सियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन तथा उपलब्ध हुँदै आएको छ ।

अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपालले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ । सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ । त्यस्तै, कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया