गण्डकीका विभिन्न कारागारबाट भागेका ४६१ कैदी अझै फरार

गण्डकी । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात सय ३४ कैदीबन्दी कारागार फर्किएका छन् । चार सय ६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये तीन सय ८१, तनहुँ कारागारबाट भागेका तीन सय २७ मध्ये दुई सय ७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् । कास्की कारागारबाट भागेका तीन सय ९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ÷नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए।
कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । ‘जेनजी’ आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कुल १२ सय ८१ कैदीबन्दीमध्ये ११ सय ९५ जना भागेका थिए । प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजेपनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरु भाग्न सकेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधारगृहमा फर्किएको जनाइएको छ । कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफै कारागार फर्कन सुरुदेखि नै आग्रह गरेका छन् ।
टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको सूचना अधिकारी बस्नेतले बताए । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरुलाई फर्काउने योजना बनाएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया