राष्ट्रप्रमुखबाट गरिने नवदुर्गाको विशेष पूजा परम्पराले निरन्तरता पाएन

भक्तपुर । कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष राष्ट्रप्रमुखको सवारी भई नवदुर्गाको पूजा र प्रसाद ग्रहण गर्ने कार्य पहिलोपटक यस वर्ष टुटेको छ । आज दिउँसो ४ः०० बजे नवदुर्गाको पूजा एवं प्रसाद ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सवारी हुने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आवश्यक तयारी गरे पनि अचानक राष्ट्रपति आउने कार्यक्रम स्थगित भएको थियो ।
राष्ट्रपतिको सट्टा उहाँको प्रतिनिधिका रूपमा शीतल निवासबाट ४ः१५ उहाँका स्वकीय सचिव सुशील तिमिल्सिना आउनुभएको थियो । उहाँले राष्ट्रपतिका लागि नवदुर्गाको फूल, माला, प्रसाद, बिमिरो र पञ्चरङ्गी धागो लिएर जानुभयो । स्वकीय सचिव तिमिल्सिनाले अचानक राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि उहाँको सवारी रद्द गरिएको जानकारी दिए।
त्यसपछि सरकारी पूजाको रूपमा नवदुर्गामा आज गुठी संस्थानको तर्फबाट संस्थानका प्रमुख शैलेशराज कुँवरले पूजा गरेका छन् । राष्ट्रपतिको सवारी हुँदा गुठी संस्थानले तयार पारेको पूजा सामग्रीबाट नवदुर्गाको पूजा गर्ने, प्रसाद ग्रहण गर्ने र ३३ नवदुर्गा देवगणलाई राष्ट्रपति कार्यालयबाट ल्याएको दक्षिणा दिने प्रचलन रहेको थियो ।
यसवर्षको दक्षिणा भने जिल्ला प्रशासन कार्यालयमार्फत देवगणलाई केही दिनमा पठाइने जनाइएको छ । नवदुर्गा देवगण नाइके बृजेश वनमालाले राष्ट्रप्रमुखबाट हँुदै आएको नवदुर्गाको पूजा ३८ वर्षमा पहिलोपटक टुटेको बताए । नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान वनमालाले पहिलोपटक यस वर्ष राष्ट्रप्रमुखको हातबाट हुने पूजाले निरन्तरता पाउन नसकेको बताए ।
स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक अनन्त धौभडेलले तान्त्रिक शक्ति रहेको र आफैँ उत्पत्ति भएको किंवदन्तीअनुसार राष्ट्रप्रमुखको पूजाले देशको हित हुने मान्यताअनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा उक्त परम्परा सुरु भएको जानकारी दिए ।
उनले भने, “दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्ने र दरबारस्क्वायर गई तलेजुको प्रसाद ग्रहण गर्ने प्रचलन २०४४ सालबाट सुरू भएको हो । त्यो परम्पराले यस वर्ष निरन्तरता पाउन सकेने ।” यसअघि भने राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति पौडेलको आगमन हुने गरेको थियो । यदि राष्ट्रपति नआए उपराष्ट्रपति आउने प्रचलन थियो ।















बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया