सोमबार, फागुन ११, २०८२

‘होस्टेल ३’ले दार्जिलिङमा मनायो ५१ औँ दिन

मेरोन्यूज २०८२ कार्तिक १२ गते १८:५६

काठमाडौँ। नेपाली चलचित्र होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गरेको छ । नेपालमा सुरु भएको ‘होस्टेल’ को तेस्रो शृङ्खलाले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गर्न सफल भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गत भदौ २० गतेदेखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेको उक्त चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले जानकारी दिए ।

भारतमा ‘होस्टेल-३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दाबढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गरे । उनले भने, “सर्वप्रथम, यति ठूलो शृङ्खलालाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्स्लाई धेरै धन्यवाद दिन चाहन्छु । निर्माण, वितरण र प्रचारप्रसारमा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।”

‘होस्टेल-३’ ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ । चलचित्रमा पारसबम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहेका छन् ।

प्रतिक्रिया