तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला

काठमाडौँ। सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले रु दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ ।
नागरिक बचतपत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ । बचतपत्रको ब्याज हरेक छ÷छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।
अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए । “बचतपत्र के हो ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा धेरैलाई जानकारी छैन ।
पछिल्ला वर्षमा खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन्”, उहाँले भन्नुभयो । नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र रु ८० करोड बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिनुभयो । यसवर्ष तोकिएको समय अघि नै खरिद भइसक्ने अनुमान गरिएको उनको भनाइ छ ।
उनका अनुसार पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र ‘स्टक’का रूपमा जारी हुनेछन् । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए । “लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् ।
लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचतपत्र हो”, उनले भने । उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको सुशिन्चित गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ ।
यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे । “दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला वा बेच्न चाहेको बेला बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोहीकारण बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ”, उनले भने ।








बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया