मंगलबार, पुष १५, २०८२

चितवनमा थपिए ३४ मतदान केन्द्र

मेरोन्यूज २०८२ पुष १५ गते १२:५८

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ । त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ ।

उनका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा कायम रहेका १६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उनले जानकारी दिए । उनले भने, “मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो ।”

क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उहाँले जानकारी दिए । यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

उहाँले ३३ हजार ७४० जना मतदाता थपिएको बताए । क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम भएको उनले बताए ।

प्रतिक्रिया