मंगलबार, वैशाख १५, २०८३

गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख

मेरोन्यूज २०७८ जेठ ६ गते १३:४५

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो ।

Advertisement
NiccNicc

यसै गरी जिल्ला अस्पताल बैतडीमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप रु एक करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रदेशमा गएको दुई दिनमा केही घटेको देखिएको कोरोना भाइरसको सङ्क्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घण्टामा फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार गएको २४ घण्टामा पिसिआर र एन्टिजेन पद्धतीबाट जम्मा दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा झण्डै ४३ प्रतिशत अर्थात् ९५३ जनामा सङ्क्रमण भएको छ ।

यस अघि सोमवार एक हजार ५३५ को नमूना परीक्षण गर्दा झण्डै ३७ प्रतिशत अर्थात् ५६३ जनामा र मङ्गलवार एक हजार ७०३ को नमूना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६९९ जनामा सङ्क्रमण देखिएको थियो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलालीका सात, कञ्चनपुरका छ र बाजुरा तथा दार्चुलाका एक÷एक गरी १५जना सङ्क्रमितको मृत्यु भएको छ । यसै बीच प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको अक्सिजनको अभावपछि अस्पतालमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । जडानसँगै अस्पतालमा कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन केही सहज भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया