कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जनाले निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
स्थानीय प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । सूचनाको अवेज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
“जेनजी प्रदर्शनका क्रममा लुटिएका हातहतियार पनि अधिकांश फिर्ता भएका छन् । व्यक्तिले अनुमति लिएर राखेका हतियार पनि बुझाइएका छन्”, उनले भने, “निर्वाचन सुरक्षाका दृष्टिले कास्कीमा कुनै किसिमको जोखिम छैन, सुरक्षा व्यवस्था मजबुत छ ।”
हातहतियार बुझाउँदा दिइएको निस्साका आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई लक्ष्य गरी जिल्लाको शान्तिसुरक्षालाई चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले काम गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ कास्कीमा ९५७ जना प्रहरी परिचालन गरिने छ भने दुई हजार ८०० निर्वाचन प्रहरी खटाइने छ ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन् । जिल्लामा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया