लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले आज रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग अन्तरक्रिया गरी अभियान बारेको अवधारणासहितको ढाँचा सार्वजनिक गरेको छ । साथै सरोकारवालाका सुझाव समेतलाई सङ्कलन गरी अभियानलाई थप प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य छ ।
विभिन्न स्थानीय तहका अधिकारी सहभागी रहेको कार्यक्रमले निःशुल्क प्रयोगशाला तथा यु.एस.जी.परीक्षण, सम्मानजनक सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढङ्गले अघि बढाउने निचोड पनि निकालेको छ ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ । तर सुत्केरीपछिको जाँच (पिएनसी) ६६ प्रतिशतमा सीमित रहनु सेवाको निरन्तरतामा चुनौती देखिएको सङ्केत भएको जनाइएको छ । सार्वजनिक विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ७९ हजार ५३६ संस्थागत सुत्केरी भएका छन् भने ७१४ घरमै सुत्केरी भएका छन् ।
यसैगरी, १०९ स्थानीय तहमध्ये ४८ ले शून्य घर सुत्केरी उपलब्धि हासिल गरे पनि ६१ स्थानीय तहमा घरमा सुत्केरी कायम रहनुले पहुँच र व्यवहार परिवर्तन दुवैमा थप काम आवश्यक रहेको देखिएको मन्त्रालयको भनाइ छ । प्रदेशको कुल प्रजनन दर ३.६ रहेको तथ्याङ्कले मातृ–नवजात स्वास्थ्य सेवामा थप सघन प्रयासको आवश्यकता औँल्याएको जनाइएको छ ।
मन्त्रालयले सेवामा देखिएको चुनौती अन्त्य गर्न गर्भावस्थाको चरणअनुसार प्याकेज ए, बी (वान), बी (टू) र सी गरी विभिन्न प्रकारका प्याकेज कार्यक्रम राखिएका छन् । स्थानीय स्वास्थ्य संस्था वा तोकिएका प्रेषण अस्पतालमार्फत तोकिएबमोजिम परीक्षण निःशुल्क उपलब्ध हुनेगरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसी ले उल्लेख गरे ।
सिबिसी, आरबिएस, युरिन आरएमई, क्रिटिनाइन, एसजिओटी, एसजिपिटी, टिएसएच, रक्त समूह, एचबिएसएजी, भिडिआरएल र आवश्यक परे थप परीक्षण र जिल्ला अस्पतालमा एएसजी गर्न सकिनेगरी प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो गर्भजाँच १२ हप्ताभित्र गराउने, २०–२४ हप्तामा थप जाँच सुनिश्चित गर्ने तथा जटिलता देखिएमा तोकिएका जिल्ला–स्थित सरकारी प्रेषण अस्पतालमा मात्र सन्दर्भ गर्ने व्यवस्था गरिएको र यसका लागि प्रेषणका लागि स्थानीय स्वास्थ्य संस्थाबाट पुर्जा अनिवार्य गरिएको छ ।
अभियानमार्फत पहुँच बढाउने मात्रै नभइ सेवा सम्मानजनक, गोपनीयता र भेदभावरहित बनाउनेमा जोड दिइएको प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । प्रमाणमा आधारित उपचार, प्रभावकारी प्रेषण प्रणाली, तथ्याङ्कको प्रयोग, संवेदनशील सञ्चार, भावनात्मक सहयोग, सीपयुक्त जनशक्ति र सहयोगी पूर्वाधारलाई गुणस्तरीय सेवाका मुख्य स्तम्भका रूपमा अघि सारिएको मन्त्री सारुले उल्लेख गरे ।
पछिल्ला तीन वर्षमा केही सूचकमा आएको गिरावटलाई गम्भीरतापूर्वक लिएर विशेष हस्तक्षेप आवश्यक ठानिएको मन्त्रालयले जनाएको छ । तर यसलाई सुधार्ने गरी जनशक्तिको व्यवस्थापनलगायत काममा ध्यान दिइएको मन्त्री सारुको भनाइ छ ।
संविधानको स्वास्थ्यसम्बन्धी हक र महिलाको सुरक्षित मातृत्व अधिकार साथै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लगायत कानुनी प्रावधानसँग कार्यक्रम समन्वयात्मक तरिकाले व्यवस्थित गरिएको छ ।
कार्यक्रममा प्रदेश सरकार स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ र विभिन्न विभागका प्रमुखसहित वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।
सुरक्षित मातृत्व अभियानअन्तर्गत प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा अनुगमन समिति सक्रिय गरिने उल्लेख छ । गर्भजाँचका लागि दर्ता भएका महिलामध्ये शतप्रतिशतले तोकिएअनुसार जाँच पूरा गरेको सुनिश्चित गर्नेलाई प्रोत्साहनस्वरूप मासिक रु दुई हजार उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
त्रैमासिक रूपमा परीक्षण बिल, मातृ–नवजात स्वास्थ्य कार्डको प्रतिलिपि र प्रेषण कागजातसहित भुक्तानी माग गर्ने स्पष्ट प्रक्रिया तोकिएको छ, जसले पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाइँ, देवदह नगरपालिका प्रमुख ध्रुव खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख कल्पना हरिजनलगायतले अभियान सफलताको कामना गरेका थिए ।
त्यस अवसरमा मन्त्रालयका तर्फबाट वरिष्ठ नर्सिङ प्रशासक केसीसहित विश्व स्वास्थ्य सङ्गठन अनुगमन ढाँचाबारे शङ्कूक भट्ट, दानबहादुर खड्कालगायतले विभिन्न तथ्याङ्कसहितको विशेष अवधारणाहरु सार्वजनिक गरेका थिए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया