शनिबार, फागुन १६, २०८२

इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा अमेरिका पनि संलग्न छ : डोनाल्ड ट्रम्प

मेरोन्यूज २०८२ फागुन १६ गते १४:३३

इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेका छन् । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताए । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे ।

यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् । आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो ।

इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ ।

छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ । इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् ।

इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ । इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटनाक्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया