दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा। घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् ।
दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै रोजगारी नपाएपछि विदेशिएका उनले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए ।
श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु । अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन ।
तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो । मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ ।
त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।” युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे ।
दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्छन्, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।” हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा हुन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ गएकि बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।
“घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने । अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।
















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया