बुधबार, फागुन २०, २०८२

इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन

मेरोन्यूज २०८२ फागुन २० गते ६:५९

मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको चिनिया राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको जनाइएको छ र त्यसयता द्वन्द्व व्यापक क्षेत्रमा फैलिएको छ ।

तेहरानको निकट साझेदार चीनले यसअघि नै युद्धविरामको आह्वान गर्दै खामेनीको हत्यालाई ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा गरेको थियो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले इजरायली समकक्षीसँगको वार्तामा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले इरान र अमेरिकाबीच हालैका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा सैन्य आक्रमणले त्यस प्रक्रियालाई अवरुद्ध गरेको बताए । “हालैको इरान–अमेरिका वार्ताले स्पष्ट प्रगति गरिरहेको थियो, तर दुर्भाग्यवश गोली हानाहानले त्यो प्रक्रिया रोकिएको छ”, उनको भनाइ उद्धृत गरिएको छ ।

वाङले अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति चीनको विरोध पुनः व्यक्त गर्दै बल प्रयोगले समस्या समाधान नगर्ने धारणा राखे । “बलले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र गम्भीर परिणाम निम्त्याउँछ”, उनले स्पष्ट पारे ।

उनले द्वन्द्व अझ फैलिन नदिन र नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल सैन्य कारबाही रोक्नुपर्नेमा चीनको जोड रहेको उल्लेख गरे । चीनले संवादमार्फत समाधान खोज्ने प्रयासलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

प्रतिक्रिया