बुधबार, वैशाख १६, २०८३

टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

मेरोन्यूज २०८२ फागुन २० गते १०:३४

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्।

Advertisement
NiccNicc

भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक भिड्न लागेका हुन्।

समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। समूह चरणमा न्युजिल्यान्डले भोगेको एक मात्र हार यही हो। 

न्युजिल्यान्ड आजको खेलमा त्यो हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ। तर यसमा साबिक उपविजेता दक्षिण अफ्रिका चुनौती बन्नेछ।

दक्षिण अफ्रिका लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ। यता नेट रनरेटको फाइदा उठाउँदै सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्ने रणनीतिमा छ।

सुपर ८ समूह २ का न्युजिल्यान्ड र पाकिस्तानका समान ३/३ अंक भए पनि नेट रनरेटमा अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो।

विश्वकपको समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको थियो। न्युजिल्यान्ड पनि समूह ‘डी’कै उपविजेताका रूपमा सुपर ८ मा सामेल भएको हो। 

प्रतिक्रिया