बुधबार, फागुन २०, २०८२

गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण

मेरोन्यूज २०८२ फागुन २० गते २०:०७

काठमाडौँ, २० फागुन : गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधानकार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् । ।

Advertisement
nepal life insurencenepal life insurence

गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू थिए ।

मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक कार्यस्थलमा खटिएका बताए ।

गृहमन्त्रीले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिए । गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिकास्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदानस्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो ।

मतदानस्थल र मतपेटिकाको अवस्थाको स्थलगत र सङ्ख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिए ।

केन्द्रबाट मतदानस्थलमा मतपेटिका पुगेनपुगेको, मतदान प्रक्रिया प्रारम्भ भएनभएको सूचना सहजै प्राप्त गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए। देशभरका सबै निर्वाचन क्षेत्रका निर्वाचन गतिविधिको सहज रुपमा अनुगमन गर्न सकिन्छ ।

केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । गृहमन्त्री अर्यालले सातवटै प्रदेशमा परिचालन भएका सुरक्षाकर्मी तथा निर्वाचन ‘डेस्क’का सुरक्षाकर्मीबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया