इरान–अमेरिका वार्ता निष्कर्षविहीन

मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।
वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन् । उनले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्याइएको उल्लेख गरे । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।
उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे ।
वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए भने विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थीए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थीए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।
युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।
यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गर्नुभएको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएको छैन ।
यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने । यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् ।
विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।

















पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया