मंगलबार, वैशाख २२, २०८३

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल

मेरोन्यूज २०८३ वैशाख २१ गते १३:१८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
NiccNicc

महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताए । “हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,” उनले भने ।

ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक सङ्केत भएको बताए । झन्डै दुई तिहाइ समर्थनसहित सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई नीतिगत स्थायित्व र विकासका लागि प्रयोग गर्न आग्रह गरे ।

महासङ्घको पहलमा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पारित गरिएको रणनीतिप्रति सरकारको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै ढकालले यसले निजी क्षेत्रको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे । “निजी उद्यमीलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक छ,” उनले भने ।

दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे । महासङ्घले यसअघि नै आर्थिक रूपान्तरणका लागि कानुनी सुधारको माग गर्दै आएको उनको भनाइ छ ।

ढकालले नेपालमा हाल ठूलो आर्थिक अवसर उपस्थित भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । “निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिइयो भने नेपालसँग तीव्र आर्थिक प्रगतिको पर्याप्त सम्भावना छ,” उनले भने ।

नेपालको जनसङ्ख्याको औसत उमेर करिब २५ वर्ष रहेको र छिमेकी भारत र चीन जस्ता ठूला बजार नजिक हुनु मुलुकका लागि अवसर भएको ढकालले बताए । साथै विकसित मुलुकहरूमा भन्साररहित पहुँचका कारण नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने उहाँको धारणा छ ।

देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “उच्च ज्यालासहितको रोजगारी सृजना नगरेसम्म निराशालाई आशामा बदल्न सकिँदैन ।”

ढकालले नेपाल र दक्षिण कोरियाबीचको प्रतिव्यक्ति आयको तुलना गर्दै सुधारको गति अपेक्षाभन्दा कम रहेको स्वीकार गरे । “हामीले प्रगति त गरेका छौँ, तर सम्भावनाअनुसारको उपलब्धि हासिल गर्न सकेका छैनौँ,” उनले भने ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको सङ्कटले नेपालको अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उनले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर परेको बताए । यस्तो अवस्थामा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने उनको भनाइ छ ।

ढकालले हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । “अत्यधिक नियमनका कारण लगानी वातावरण प्रभावित भएको छ,” उनले भने ।

बङ्गलादेश, रुवान्डा, कम्बोडिया, भियतनाम र लाओसजस्ता मुलुकहरूले निजी क्षेत्रलाई प्रोत्साहन दिएर तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण प्रस्तुत गर्दै ढकालले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने धारणा राखे ।

उनले लगानी वृद्धि, प्रविधिको उच्चतम प्रयोग, सदाचार प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आर्थिक सुधारलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै, स्वदेशी पुँजी परिचालनका लागि लगानी कम्पनी स्थापना गर्ने महासङ्घको योजना कार्यान्वयनमा रहेको जानकारी पनि दिए ।

ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया