देउवा निवासमा दोहोर्याएर पुगे प्रचण्ड, माधव नेपालसहित छलफल

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहानदेखि नेताहरुको जमघट बाक्लो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहोर्याएर देउवा निवास पुगेका छन् । देउवा निवासमा एमालेका नेता माधव नेपाल पनि पुगेका छन् ।
सत्ताशीन दल एमालेमा पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीले ६ बुँदे प्रस्ताव अगाडि सारेर अपिल गरेपछि माधव समूहले के गर्लान् ? भन्ने प्रश्न उठिरहेका बेला नेपाल भने आफ्नो समूहको स्थायी समितिको बैठक सेकर बुढानीलकण्ठ पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरी देउवाको निवास पुगेका थिए । देउवासँग झण्डै एक घण्टा छलफल गरेर बाहिरिएका प्रचण्ड त्यसपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका थिए ।
तर, जब नेपाल पनि आफ्नो समूहको स्थायी समितिको बैठक सकेर देउवा निवास पुगे । त्यसपछि प्रचण्ड फेरि दोहोर्याएर देउवा निवास पुगेका हुन् । त्यहाँ अहिले देउवा, प्रचण्ड र नेपाललगायतका नेताहरूका बीचमा छलफल जारी रहेको बुढानीलकण्ठस्थित स्रोतले मेरोन्यूजलाई जानकारी गराएको छ ।
एमालेको एकताका लागि ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा पुगेर नेपालसहितका एमालेका २३ विघटित संसदका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनु पर्ने शर्त राखेका थिए । तर, नेपाल पक्षले स्थायी समिति बैठकपछि ओलीको प्रस्तावमा सन्तुष्ट हुन नसकिने र ओलीको प्रस्तावका कतिपय विषय विरोधाभाषपूर्ण र अस्पष्ट रहेको भन्दै आफूहरुको तर्फबाट छुट्टै अपिल जारी गर्ने निष्कर्ष निकालेर नेता नेपाल देउवा निवासमा पुगेका हुन् ।
ओलीको ६ बुँदेको जवाफ नेपाल समूहले लिखित रुपमा नै दिने निर्णय लिएको थियो । ओलीले सर्वाेच्चमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समुहले नमान्ने निष्कर्ष निकालेपछि नेपाल देउवा निवास पुगेका हुन् ।
प्रतिनिधिसभा विघटनको निर्णय बरु ओलीले फिर्ता लिनु पर्ने, आफूहरूले लोकतनत्र, व्यवस्था र संविधानको रक्षाका लागि अदालतमा हस्ताक्षर गर्न पुगेकाले फिर्ता नलिने नेपाल समूहले बताएको छ ।
ओलीको वक्तव्यले एमालेको माधव नेपाल समूहभित्र तरंग पैदा गरिरहेका बेला आफ्नो विचार समूहको बैठक सकेर देउवा निवासमा नेपाल पुग्नु र देउवासाग एक चरण छलफल गरेर बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि दोहोर्याएर पुग्नुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेताहरुका बीचमा अबको रणनीतिका विषयमा केन्द्रीत रहेर छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया