गण्डकीमा विपक्षी गठबन्धन सरकार बनाउने तयारीमा जुट्याे
विपक्षी गठबन्धनका नेपाली भन्छन्- प्रदेश प्रमुखले आह्वान गरेपछि प्रस्ताव लिएर जान्छाैं

पाेखरा । प्रदेशसभाबाट विश्वासकाे मत पाउन नसकी गण्डकीका मुख्यमन्त्री पदमुक्त भएपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । उनीहरूले संविधानकाे धारा १६८ (५) अनुसार प्रदेशसभाकाे बहुमत पुर्याएर नयाँ सरकार बनाउन तयारीमा लागेका हुन् ।
प्रदेशसभाकाे ठूलाे दलका रूपमा नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङले एक महिना अघि मुख्यमन्त्रीकाे शपथ लिएका थिए । उनले आज विश्वासकाे मत लिन प्रस्ताव गरेका थिए । प्रदेशसभामा भएकाे मतदानमा मुख्यमन्त्री गुरुङले राखेकाे विश्वासकाे मतकाे पक्षमा २७ र विपक्षमा ३० मत खसेकाे थियाे ।
गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्थ्याे । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा ५७ जना सहभागी हुनाका साथै एक जना तटस्थ रहे । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ मतदान प्रक्रियामा अनुपस्थित भए ।
विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र पाेखरेललाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिएकाे छ । विपक्षी गठबन्धन नयाँ सरकार बनाउन आवश्यक बहुमत पुर्याउने तयारीमा जुटेकाे उनले बताए । ‘बहुमत पुग्ने निश्चित छ । प्रदेश प्रमुखले आह्वान गरेपछि हामी प्रस्ताव लिएर जान्छाैं’, उनले भने ।
गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त
मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अब संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।
संविधानको सो धारामा विश्वासको मत पाउन सक्ने दावी पेश गरेका प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाउन नसके संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको मिति घोषणा हुने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया