बुधबार, जेठ ७, २०८२

बोलीमा छैन लगाम

प्रदेश सांसदहरू : कोरोना संक्रमितलाई श्रद्धाञ्जलीदेखि प्रधानमन्त्रीलाई मार्ने धम्कीसम्म

मेरोन्यूज २०७८ जेठ २९ गते १४:५५

काठमाडौँ । नेपालमा संघीयतासहितको संविधान आएसँगै देश विकास हुनेमा जनता खुसी थिए । सधैँ बुढा नेताहरूको नेतृत्वमा रहेको केन्द्र सरकारभन्दा बाहिर संघीय सरकारमा युवा पुस्ताले नेतृत्व गरिरहेको देख्न पाए ।

युवाले देश र समाज विकास गर्नेमा जनताको मनमा केही मात्रामा आशा पलाउन थाले । तर, पछिल्लो समयमा तिनै युवा पुस्ताले नेतृत्व गरिरहेको प्रदेश सरकार र सांसदहरू एकपछि अर्को विवादमा तानिदै आएका छन् ।

उनै सांसदले कोरोना संक्रमित विरामीलाई श्रद्धाञ्जली दिनेदेखि प्रधानमन्त्रीलाई मार्ने धम्कीसम्म दिन थालेका छन् । जसको कडा आलोचना हुँदै आएको छ ।

१, प्रधानमन्त्रीलाई मार्ने धम्की

शुक्रबारदेखि बागमती प्रदेशसभामा बजेट अधिवेशन चल्दै छ । असार १ गते सबै प्रदेशले प्रदेशसभाबाट बजेट विनियोजन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुरुप बागमती प्रदेशमा छलफल चलिरहेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिए । उनले बैठकमा बोल्दै प्रधानमन्त्रीविरुद्ध कोही ‘नाथुराम गोड्से’ भएर निस्कनु पर्ने नत्र आफै तयार हुने विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त विवादित अभिव्यक्तिको अहिले समाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

के भनेका थिए वैद्यले ?

“ओली यसरी आइरहेको छ कि, आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि  । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?”

स्मरण रहोस्, गोड्से तिनै व्यक्ति हुन् । जसले भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त गराउने महात्मा गान्धीलाई गोली हानी हत्या गरेका थिए ।

२, कोरोना संक्रमितलाई श्रद्धाञ्जली

बागमती प्रदेशसभाकै अर्का सदस्य हुन्, नारायणबहादुर सिलवाल । उनले प्रदेशसभाको बैठकमा बोल्दै गर्दा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका प्रदेश सांसद पशुपति चौलागाईलगायत कोरोनाबाट निधन भएका सबैलाई श्रद्धाञ्जली दिएका थिए ।

तर, यस क्रममा उनले कोरोनाबाट निधन भएकाहरूलाई होइन, कोरोना संक्रमित भई उपचार गरिरहेका विरामीहरूलाई श्रद्धाञ्जली दिन पुगे । उनले बैठकमा भनेका थिए, ‘म सुरुमा माननिय पशुपति चौलागाइलगायत कोरोनाबाट संक्रमित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्न चाहान्छु, शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्न चाहान्छु ।”

उनले प्रदेश सभामा करिब ७ मिनेट बोलेका थिए । तर, आफूले सुरुमा के बोल्ने भन्ने भेउ पाएनन् । सिलवाल नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ को ‘क’बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले कोरोना संक्रमितलाई श्रद्धाञ्जली दिएको थाहा नपाएपछि विपक्षी दलका प्रदेशसभा सदस्यले आपत्ति जनाएका थिए । विपक्षी दलको आपत्तिपछि कर्मचारीसँग सल्लाह लिएर उप सभामुखले श्रद्धाञ्जली शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

३, २०५८ जेठ २८ गते बस्ने बैठक

विं.सं. २०५८ साल सकिएको दुई दशक पूरा भएको छ । नेपाली पात्रोअनुसार अहिले २०७८ साल चलिरहेको छ ।

तर, गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले २०७८ लाई २०५८ बनाइदिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत बिहीबार विश्वासको मत लिएका थिए ।

उनले विश्वासको मत लिएका दिन प्रदेशसभामा सबै दलका शीर्ष नेताले सम्बोद गरेका थिए । प्रदेशसभामा उठेका सवालको मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि प्रदेशसभामा मतदानको प्रक्रिया चल्यो ।

यससँगै मतदानको परिणाम सभामखुले घोषण गरेर र प्रदेशसभाको बैठक सो दिनलाई स्थगित गर्दै अर्को बैठक डाके । यस क्रममा उनले भने, ‘मान्य सदस्यहरू अब यो बैठक २०५८ जेठ २८ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित हुन्छ ।’ प्रदेश प्रमुखको यो कुरा टिकटकमा भाइरल भएको छ ।

४, गर्मीबाट बच्न स्वास्थ्यकर्मीको माग

यस्तै, सांसदहरूले जनताभन्दा बढी आफ्नै चिन्तामा चिन्तित भएको एक सांसदको भनाईमा देखिएको छ । हुन त समयसमयमा आफ्नो सेवा सुविधा बढाएको, अनावश्यक भत्ता खाएको समाचार आउने गरेको छ । तर, प्रदेशसभा सदस्यले आफ्ना लागि कतिसम्म बोल्न सक्दा रहेछन् भन्ने कुरा सुदूरपश्चिम प्रदेशकी सांसद अम्बी कुमारी थापाले देखाएकी छन् ।

उनी कांग्रेसको तर्फबाट अछाम जिल्लाबाट सांसद भएकी हुन् । उनले प्रदेशसभा एक बैठकमा बोल्दै गर्मीबाट बच्न स्वास्थकर्मीको व्यवस्था गर्नु पर्ने माग राखिन् ।

आगामी आर्थिक वर्षको बजेटमा प्रदेशसभामा स्वास्थ्यकर्मीको व्यवस्था गर्न बजेटको व्यवस्था गर्नु पर्ने बताइन् । ‘हामी अहिले यस्तो गर्मीमा सदनभित्र बसिरहेका छौँ, बोलिरहेका छौँ, हाम्रो सदनबाहिर एउटा स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्छ कि भन्ने मेरो मनमा उब्जियो,’ उनले भनिन्, ‘यसका लागि सभालाई मैले अनुरोध गरेँ, सरकारले बजेटको व्यवस्था गरिदिने छ र सहजीकरण प्रदेशसभाले गरिदिने छ ।’

प्रदेशमा मात्र होइन संघीय सरकारका मन्त्रीहरू नै अनावश्यक र तर्कहिन भाषण गर्दै हिँडेका धेरै छन् । तत्कालीन खानेपानी मन्त्री मणि थापाले सपथ लिएसँगै गत माघ १७ गते कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगे । उनले सम्बोधनका क्रममा श्री ५ को सरकारको तर्फबाट अभिवादन भन्न भ्याए । उनको यो अभिव्यक्ति सुनेर कार्यक्रममा सहभागी आम नेता तथा कार्यक्रता मज्जाले हाँसे ।

यस्तै, मन्त्री थापाको गम्भिर भूल सेलाउन नपाउँदै शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले यस्तै प्रकारको अभिव्यक्ति दिए । विश्व विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागी एक प्रागिक कार्यक्रममा पुगेका उन अ‍ोलीलाई हटाउन ‘कोही माइकालाल जन्मिएको छैन’ भन्दै अमर्यादित र असभ्य भाषा प्रयोग गर्दै उग्र भाषण गरे ।

गत फागुन १८ गते तत्कालीन वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको अभिव्यक्तिले पनि बजार ततायो । उनले एक सम्बोधनका क्रममा ‘जुन रुखबाट हामी कार्बन्डाइअक्साइड लिन्छौँ, त्यही रुखलाई हामी अक्सिजन दिन्छौँ’ भन्दै भाषण गरेका थिए ।

प्रतिक्रिया