शुक्रबार, वैशाख ११, २०८३

२०७१ साल यता सिन्धुपाल्चोकमा वर्षेनि प्राकृति विपत्तिका घटना, कुन साल के भयो ?

मेरोन्यूज २०७८ असार २ गते ९:००
तस्वीरः सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेको फेसबुकबाट

काठमाडौं । सिन्धुपाल्चोकमा २०७१ साल यता वर्षेनि प्राकृतिक विपत्ति आइपरेको छ ।

Advertisement
NiccNicc

२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घरमा पूर्णरूपमा क्षति पुग्यो ।

२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता र ७८ हजार ५ सय ३७ घरमा पूर्ण रुपमा क्षति भयो ।

२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगायो । तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो, अरनिको राजमार्ग बन्द भयो ।

२०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्यो । अरनिको राजमार्ग फेरी अवरुद्ध भयो ।

२०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगायो, पहिरोले २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परे ।

२०७७ असार २४ गते राती बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिंदा २ जनाको मृत्यु भयो । १७ जना वेपत्ता भए । २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भयो । बाह्रबिसे कै खागदलमा बाढी पहिरोले बस्ती पुरिंदा २२ घर क्षतिग्रस्त बन्यो ।

भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो । तीन जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो।

अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त बने । लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो ।

२०७७ असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो । ३ घर पूर्ण रुपमा क्षतिग्रस्त बन्यो ।

२०७७ साउन १८ गते राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोहि रात बरुवामा घर पुरिएर २ जनाको ज्यान गयो ।

२०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिएर क्षति भयो । बलेफी कात्तिके सडक अवरुद्ध भयो । सयौं रोपनी धानखेत बगायो ।

२०७७ साउन ३० गते विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भयो ।

२०७८ साल असार १ गते साँझ देखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आएको छ । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याएको छ ।

नदी तटीय क्षेत्रबाट ५० हाराहारीमा मानिस सम्पर्क विहिन भएको प्रहरीको भनाई छ । मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकि छ । इन्द्रावतीले मेलम्ची नवलपुर जोड्ने पक्कि पुल बगाएको छ । मेलम्ची बजारमा पनि ठूलो क्षति भएको छ।

प्रतिक्रिया