जसपाको कार्यकारिणी समितिको बैठकले यी ६ निर्णय गर्याे

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक विभिन्न ६ निर्णय गरेर सम्पन्न भएकाे छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेकाे बैठकले पार्टीकाे आधिकारिकताका लागि पुनः निर्वाचन आयाेगमा दाबी सहितकाे निवेदन दिने निर्णय गरेकाे छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिले गरेकाे ६ निर्णयः
१) जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८/२/३० को निर्णयले वाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने ।
२) लुम्बिनी प्रदेश सभाका सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २८ को उपदफा ३ बमोजिम स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा ऐन र विधान अनुसार आवश्यक कारबाही गर्ने ।
३) व्यापार घाटा कम गर्ने नाममा सरकारले ढुङ्गा, गिटी, वालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको ठहर गर्दै चुरे विनास र तराई/मधेशलाई मुरुभूमिकरण हुनबाट रोक्न साथै ढुङ्गा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गर्न पार्टीमा एउटा समिति बनाउने ।
४) मनसुनको सुरुवातसँगै देशको विभिन्न भागमा सुरु भएको बाढी-पहिरोमा परेकाहरुलाई उद्धार गर्न र सकेको राहत उपलब्ध गराउन स्थानीय पार्टी कमिटीहरुलाई परिचालन गर्ने । साथै, उद्धार, राहत र प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै समस्याको स्थायी समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने ।
५) बारा, पर्सा, रसुवालगायतका जिल्लाहरुमा पार्टीको टिकट लिई विभिन्न स्थानीय तहमा निर्वाचन जितेका तर अहिले पार्टी परित्याग गरि अन्य पार्टीहरुमा गएका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने ।
६) केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति सदस्यहरुको कार्यबिभाजनका लागि ठोस प्रस्ताव तयार गर्न ७ सदस्यीय कार्यदल निर्माण भएको छ : जसमा, मृगेन्द्रसिंह यादव/ हिसिला यमी / रेणु यादव / गंगा श्रेष्ठ / रामसहाय यादव / रणध्वज कन्दङ्वा र इस्तियाक राई छन् । यस कार्यदलले ७ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।
प्रतिक्रिया