बिहीबार, जेठ ८, २०८२

३ जना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मेरोन्यूज २०७८ असार ४ गते १५:४३

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा )माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विपविपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरुलाई निष्कासन गरेको थियो ।

सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनहरु पुनस्र्थापित भएका थिए । दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो ।

सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका छन् ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।

प्रतिक्रिया