बिहीबार, मंसिर ११, २०८२

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्सेमा हरियाली

मेरोन्यूज २०७८ साउन ३ गते १५:४३


काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको पहिलो दिन (आज) आइतबार उल्लेख्य सुधार आएको छ ।
नेप्से परिसुचक ९७ दशमलब २१ अंकले उकालो लागेर २ हजार ९ सय ८० दशमलब ६१ बिन्दुमा पुगेको छ । यो गत आर्थिक वर्षको अन्तिम दिन अर्थात् यस अघिको कारोबारभन्दा ३ दशमलब ३७ प्रतिशतले बढी हो ।
नयाँ आर्थिक वर्ष २०७८÷७९ को पहिलो कारोबारमा सबै ११ कम्पनी समुहका उपसुचकमा सुधार आएको स्टक एक्सचेञ्जले जनाएको छ । क वर्गका कम्पनी समुहको उपसुचक १९ दशमलब ५५ अंकले बढेको छ ।
कूल २ सय २१ कम्पनीको १ लाख १६ हजार २ सय ९४ कारोबारबाट ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।
गत शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार विकास सरकारको प्राथमिकतामा भएको बताएका थिए । सरकारको राजस्वको राम्रो स्रोतको रुपमा रहेको पूँजीबजारको हितमा काम गर्ने अर्थमन्त्री शर्माको भनाईसँगै शेयरमा आकर्षण बढेको लगानीकर्ताले दाबी गरेका छन् ।
जसले गर्दा पहिलो दिन आइतबार नै प्रि – ओपन सेसनमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ । आज प्रि ओपनमा सूचक ९ दशमलब ७ अंकले बढेको छ ।
आज प्रि ओपनमा नेपाल बंगलादेश बैंक, एनएचपीसी, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स लगायतका कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ ।
यसैबीच, साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार सुरु भएको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिको असार ३० गते बुधबार बसेको वैठकले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको थियो ।
यस संगै अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउछ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो ।

यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने विश्वास गरिएको छ । हाल साढे १० देखि पौने ११ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।
त्यस्तै आइतबारदेखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम भएको छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा अर्डर हाल्न सक्ने छन् । यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने विश्वास गरिएको छ ।
यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २ सय रुपैयाँ १० पैसा, २ सय रुपैयाँ २० पैसाको अर्डर गर्न सक्ने छन् ।

प्रतिक्रिया