माधव नेपाललाई ओली र देउवा दुवैका ‘अल्टिमेटम’
सरकारमा आउन प्रधानमन्त्री देउवाको भोलिसम्म र पार्टी एकतामा आउन अध्यक्ष ओलीको शनिबारसम्मको अल्टिमेटम

काठमाडौं । एमालेका बरिष्ठ नेता माधव नेपाल यतिवेला अव के गर्ने भन्ने दोसाँधमा उभिएका छन् । उनको लक्ष्य एउटै छ – पार्टीमा केपी ओलीसँगको अन्तरसंर्घषमा लत्रिने होइन, जमेर प्रतिबाद गरिरहने ।
आफ्नै समुहभित्रका दायाँ बायाँ हात भनिएकै नेताहरुले धोका दिएपनि एक्लै भएपनि चट्टानी अडानका साथ आफनो ‘मिसन’मा उभिईरहने ।नेपालको यही अडानका बाबजुद उनलाई पछिल्लो दुई दिन यता सत्ता गठवन्धन र पार्टी एमाले दुवैतिरवाट ‘प्रेसर’ उत्तिकै परेको छ ।
सरकारमा आउन नेपाललाई सत्ता गठवन्धनको जोड निक्कै छ, उता पार्टी विवाद अव नतन्काउन र मिलेर जान पार्टी पङक्तिकै कर पनि उत्तिकै छ । यसवीच उनलाई सरकारमा आउन सत्ता गठवन्धनले शुक्रवारसम्मको अल्टिमेटम दिएको छ भने पार्टी विवाद अव धेरै नलम्वाउन र मिल्न आउने/नआउने शनिवारसम्म छिनोफानो लगाउन एमाले अध्यक्ष केपी ओलीको अर्काे अल्टीमेटम छ ।
नेपाल सहितको एमालेकै २२ सांसदको साथ अहिलेको कांग्रेस नेतृत्वको सरकारलाई छ । सत्ताको सहयात्री दल कांग्रेस र माओवादी दुवैले नेपाल समुहलाई सरकारमा आउन वारम्वार भनिरहेका छन् ।
नेपाल समुहका २२ सांसदहरु मध्येको अधिकाशंको जोड पनि सरकारमा जानुपर्ने भन्ने नै छ । तर नेपाल त्यसरी सरकारमा जाँदा ओलीले कारवाही गरिहाल्छन र सांसदको पद खाईदिन्छन, त्यो भन्द अगाडी कुनै विकल्प निकाल्न सकिन्छ की भन्नेमा सोचमग्न देखिन्छन् ।
पार्टीभित्र एकता प्रक्रिया चलिरहेको र अझै ओलीका लागि एकतामा नेतृत्व सम्वन्धी तीन वुँदे विकल्प अगाडी सारेका नेपाल नयाँ पार्टी गठनकै प्रक्रियामा छन् । तर पनि उनको ३ वुादे विकल्पमा कतै एमालेभित्रै सहमति बन्छ भने किन हत्तारिने भन्नेमा पनि नेपाल छन् । तर उनले पनि एक साताभित्र अव छिनोफानो हुने पार्टीका आफु निकट नेताहरुलाई बताईरहेका छन् ।
यस्तो बेला सत्ता गठवन्धन र पार्टी एमाले दुवैतिरबाट उनीमाथी ‘अल्टिमेटम’ भने परेको छ ।
कांग्रेस र माओवादी केन्द्रले सरकारमा आउने नआउने टुंगो गर्न नेपाललाई भोलिसम्मको अल्टिमेटम दिएका छन्। देउवा प्रधानमन्त्री भएको १७ औं दिन पुगिसक्दा पनि सरकार विस्तार नगरी ढिलाई भईरहेको छ । यसमा देउवाको आलोचना शुरु भईसकेको छ । अव धेरै विलम्व गर्न नहुने र सरकारमा आउने/नआउने छिनोफानो गर्न कांग्रेस-माओवादीले नेता नेपाललाई भोलि शुक्रवार सम्मको अल्टिमेटम दिएका छन् ।
विहिबार प्रधानमन्त्रीसँग भेट गरेर विहान पौने १० वजे नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र आफु दुवैको तर्फवाट नेपाललाई सरकारमा आउने नआउने टुग्याउन शुक्रवार सम्मको अल्टिमेटम दिएको स्रोतको भनाई छ ।
एमाले कानुनी रुपमा विभाजित नभएसम्म सरकारमा जाँदा राजनीतिक रुपमा घाटा हुने निचोडमा देखिएका नेपाल यसमा के गर्ने भन्ने दवावमा छन्। आफ्नै समूहभित्र एकाथरी नेता एमाले एक बनाउनुपर्ने र अर्काेथरी नेता नयाँ पार्टीको योजनामा लाग्नुपर्ने गरी विभाजित हुन थालेपछि नेपाललाई निर्णय लिन अप्ठ्यारो भईरहेको छ ।
त्यही वेला कांग्रेस र माओवादीको भोलि शुक्रवार सम्म विषय टुग्याउन अल्टिमेटम आएको हो ।
अर्काेतिर, एमाले अध्यक्ष ओलीले आफु लचिलो भएर प्रस्तुत हुँदा हुँदै पनि माधव नेपाल धेरै टाढा जान चाहेको भन्दै माधव नेपाल हिँडेको बाटो गलत भएको बताईरहेका छन् । उनले पनि वुधबार पार्टी मुख्यालय थापाथली पुगेर महासचिव इश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाल, शेरवहादुर तामाङलगायत नेतालाई अव माधव नेपाललाई धेरै कुर्न नसकिने वताएका छन् ।
उनले महासचिव पोखरेल र नेता नेम्वाङलाई निर्देशन दिँदै भनेका छन्,-‘शनिवार सम्म टुग्याऔं, अव सवै कुरा । माधव नेपाल मिल्न आए आउँछन्, नआए अगाडी वढौं ।’
आफु लचिलो भएको तर वाहिर केही नगरेको झै प्रचार भएको भन्दै ओलीले अव धेरै समय कुर्न नसकिने नेताहरुलाई स्पष्ट पारेका हुन् ।
‘ शनिवारसम्म कि वार कि पार गरौ, जे-जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनुस्। सबै त्यहीँबाट अव टुङ्ग्याऊँ।’ ओलीले नेताहरुलाई निर्देशन दिँदै भनेका छन् ।
यसले गर्दा नेता नेपाललाई सत्ता गठवन्धनवाट सरकारमा आउन भोलि शुक्रवार सम्मको अल्टिमेटम छ भने पार्टी अध्यक्ष ओलीबाट पार्टी मिलाउन शनिवारसम्मको अल्टिमेटम परेको छ ।
प्रतिक्रिया