न्यायालयका विकृति अध्ययन प्रतिवेदन : पूर्व न्यायाधीशको सक्रियता अस्वभाविक

काठमाडौं । न्यायालयभित्रका विकृति, विसंगति र भ्रष्टाचार अध्ययन गर्न बनेको समितिले सर्वोच्च अदालतको फुलकोर्टमा प्रतिवेदन बुझाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै जबराले छिट्टै सार्वजनिक गरेर कार्यान्वयन गर्ने बताएका छन् ।
समितिले एक वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषदको संरचनादेखि पूर्व न्यायाधीशको अस्वभाविक सक्रियताको विषयमा उल्लेख छ । साथै कर्मचारी तथा न्यायाधीशहरुको तलब वृद्धि गर्दा भ्रष्टाचार घट्न जाने प्रतिवेदनमा उल्लेख गरेको छ ।
‘हामीले न्याय परिषद्को संरचना परिवर्तन गर्न सुझाव दिएका छौँ । हामीलाई न्यायाधीश नियुक्ति अपारदर्शी भएकोबारे पनि सुझाव आएका थिए,’ समितिका एक सदस्यले भने, ‘न्यायाधीशका साथै अदालत र न्याय क्षेत्रका कर्मचारीको तलब पनि समयसापेक्ष हुनुपर्ने सुझाव दिएका छौँ ।’ पेसी तोक्दादेखि नै मुद्दामा चलखेल हुने, बिचौलिया सक्रिय हुने र भ्रष्टाचार मौलाउने समितिको प्रतिवेदनमा उल्लेख छ ।
‘बिचौलिया भनेका न्यायाधीशकै आफन्त, सवारी चालक, भान्से आदि हुने रहेछन्,’ समितिका ती सदस्यले प्रष्ट पार्दै थपे, ‘उनीहरुले पीडितको मुद्दा मिलाइदिने नाममा पैसा लिने, न्यायाधीशसमक्ष पु¥याउनेजस्ता कार्य गर्ने गरेको गुनासा आए ।’ समितिले लकडाउन र कोरोना महामारीकाबीच सातै प्रदेशका सबैजसो जिल्लामा पुगेर सरोकारवालाहरुसँग छलफल गरेर सुझाव संकलन गरेको थियो ।
समितिका सदस्यमध्येका एक सर्वोच्च अदालत बार एसोसिएसनका निर्वतमान सचिव शुभनराज आचार्यले आफूलहरुले ढिलै प्रतिवेदन तयार गरेपनि पूर्ण बनाएर दिएको बताए ।
उनले भने, ‘हामीले सेवाग्राही, पूर्व न्यायाधीश, सरकारी वकिल, कानून व्यवसायी, प्रहरी, विभिन्न क्षेत्रका अगुवासँग परामर्श र छलफल गरेर वहाँहरुको सुझाव राखेर प्रतिवेदन तयार गरेका हौँ । प्रधानन्यायाधीशले चाहनुभए यसलाई लागू गर्न सक्नुहुन्छ । उच्च अदालतहरुमा पनि मुख्य न्यायाधीशले चाहेमा प्रतिवेदन कार्यान्वयन गरेर न्यायपालिकाको जनआस्थमा वृद्धि गर्न सकिन्छ ।’
प्रधानन्यायाधीश जबराले गत वर्ष २९ साउन २०७७ मा पाँच सदस्यीय समिति गठन गरेका थिए । जसको संयोजकमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की थिए भने नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका निर्वतमान अध्यक्ष खगेन्द्र अधिकारीलाई पनि पछि समावेश गरिएको थियो ।
सुरुमा पाँच सदस्यीय समिति भए पनि पछि तीन जना थप भएका थिए भने न्यायपरिषद्का तर्फबाट प्रतिनिधित्व गरिरहेका वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको कोरोना संक्रमणका कारण निधन भएको थियो ।
यसैगरी महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट रहेका नारायण पौडेल उच्चको न्यायाधीश सिफारिस भएपछि उनको स्थानमा नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीशले मनोनयन गरेका थिए ।
यसैगरी नेपाल बारका तर्फबाट महासचिव लीलामणी पौडेल, सर्वोच्च बारका तर्फबाट तत्कालीन सचिव शुभनराज आचार्य समितिका सदस्य थिए । उनीसहितको समितिले दिएको प्रतिवेदनमा पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्न सुझाव दिइएको छ ।
समितिलाई ३ महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइए पनि ३ पटक समय थप गरिएको थियो । समितिले चार गुणा बढी समय लिएर प्रतिवेदन पेस गरेको हो ।
‘यसअघिका प्रतिवेदन सार्वजनिक गरेएका थिएनन् । तर प्रधानन्यायाधीशले यस पटक भने सार्वजनिक गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ,’ पूर्वसचिव आचार्यले भने ।
समितिलाई न्यायपालिकामा हुने अनियमितता, भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप अध्ययन तथा तिनको रोकथामका उपाय सुझाउन कार्यादेश दिइएको थियो ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया