टोकियो ओलम्पिक सम्पन्न, ३३औं ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

काठमाडौं । जापानको राजधानी टोकियोमा ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।
कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ ।
विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार÷चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन ।
टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए भने समापनमा स्वयंसेवकले बोकेका थिए । टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदकविहीन बने । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए ।
टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहे । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो ।
यस्तै चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरेको छ ।
यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौं, अस्टे«लिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौं, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौं, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौं, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौं तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औं स्थानमा रहे ।
दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो । दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रहे। पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमानमा सुधार गरे । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो ।
सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल स्पर्धामा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । परियारले त्यसअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् ।
त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएको थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।
पौडी खेलाडी एलेक्स शाहले टोकियोमा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गरे । त्यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।
यसैगरी पौडीकै गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा आफ्नो कीर्तिमानमा सुधार गरेकी छन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा एक मिनेट ११ सेकेण्डको कीर्तिमान बनाइन् ।
त्यसअघि सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक मिनेट ५६ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । टोकियो ओलम्पिकमा उनी अर्को चरणमा भने पुग्न सकिनन् ।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिन् । महिला १०० मिटर दौड उनले १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् ।
त्यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएकी थिइन् । यस्तै जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित भइन् ।
यही साउन ८ गतेदेखि शुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया