दार्चुला तुइन घटनाः छानबिन समिति बैतडी प्रस्थान

दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि त्यहाँबाट फर्किएको छ ।
यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी खुस्काइदिंदा धामी नदीमा खसेर बेपत्ता भएका थिए ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका हुन् ।
समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने/नदिनेबारे जवाफ पठाएको छैन ।
स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।
सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।
समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौं फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट रहेका छन् ।
छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवै तर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।
प्रतिक्रिया