शुक्रबार, वैशाख २६, २०८२

प्रहरीमा जनशक्तिको अभाव हुँदा सुरक्षा दिन कठिनाई

मेरोन्यूज २०७८ साउन ३२ गते १३:५८

काठमाडौँ । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतिबेला कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि खटिएको छ । सम्भावित बिरामीको पिसिआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ ।

गाउँदेखि शहरमा पिसिआरको आवश्यकता स्वास्थ्यकर्मीले औँल्याउँदा अटेरी गर्नेलाई प्रहरी पुगेर स्वाब संकलन गर्ने केन्द्रसम्म पुर्याउनु पर्छ । होम आइसोलेशनमा बसेका संक्रमित खुलेयाम सडकमा हिँड्दा प्रहरीले नै अस्पताल पुर्याउँछ ।

नियमित शान्ति सुरक्षा, ट्राफिक, अपराध नियन्त्रण र अनुसन्धानका काम पनि रोकिएका छैनन् । बिरामीको जाँच, खोजपड्लात र उपचारको काम स्वास्थ्यकर्मीको हो । तर, कोरोना नियन्त्रणका लागि प्रहरीको भूमिका पनि उत्तिकै छ ।

शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको काममा मौजुदा जनशक्तिको अधिकतम प्रयोग गरेको प्रहरीले महामारी नियन्त्रणका समयमा भने जनशक्तिको अभाव महसुस गरेको छ । दरबन्दीअनुसारको जनशक्ति पदपूर्ति नहुँदा प्रहरीलाई कठिन भएको हो ।

‘जिल्लामै प्रहरीको संख्या कम छ, चौकी, इलाका र पोष्टमा चाहिनेजति खटाउन सकिएको छैन्,’ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले भने, ‘दरबन्दी खाली छन्, जनघनत्व भएका ठाउँमा जनशक्तिले पुग्दैन् ।’

५८७ जनाको दरबन्दी रहेको बागलुङमा ३१४ जना मात्रै छन् । प्रहरी उपरीक्षक, प्रहरी अधिकृतदेखि जवानसम्मका अधिकांश पद खाली छन् । २६ प्रहरी नायब निरीक्षकको दरबन्दी रहेको जिल्लामा ११ मात्रै छन् । ६२ प्रहरी सहायक निरीक्षकको दरबन्दीमा ३२ ले काम चालउनुपरेको उनले जानकारी दिए ।

उनले भने, ‘प्रहरी अधिकृत हुनुहुन्छ समस्या छैन, जसलाई धेरै खटाउनुपर्ने हो उहाँहरुकै दरबन्दी खाली छ ।’ जिल्लामा रहेको मौजुदा जनशक्ति अवकाश पाउँदा १०१ को दरबन्दी नै खाली छ । सरुवा भएर आउने पनि काजमा बस्दा जनशक्तिको कमी भएको कार्यालयको तथ्यांक छ ।

यहाँको दरबन्दीमा कामकाज गर्न अन्तै बस्नेमध्ये धेरै जना पोखरामा छन् । मन्त्रालय, मन्त्री निवास, भिआइपीको सुरक्षा र सरकारी विभिन्न निकायमा काजमा बस्ने धेरै रहेको प्रउपल्लीमगरले बताए । ‘पोष्टिङ यहाँ हुन्छ तर काज मिलाएर सुगममा बस्ने धेरै हुँदा समस्या भयो,’ उनले भने, ‘दरबन्दीमा नयाँ नियुक्ति नहुँदा काममा सास्ती खेप्नुपरेको छ ।’ २९ को दरबन्दी हुने इलाका प्रहरी कार्यालय बलेवा ८ का भरमा चलेको छ । यो एउटा उदाहरण मात्रै हो । बागलुङमा ‘क’ वर्गका इलाका प्रहरी ३, ‘ख’ वर्गका इलाका प्रहरी कार्यालय चार र १४ वटा प्रहरी चौकी छन् । तीन वटा प्रहरी चौकी खुल्न बाँकी छन् । सबै इलाका तथा चौकीमा जनशक्तिको अभाव छ ।

‘हरेक ठाउँमा प्रहरी चाहिन्छ, काममा खप्टाएर काम गर्नुपरेको छ,’ उनले भने, ‘हाम्रो सुविधा भनेकै बिदा हो, भनेका बेला बिदा पठाउन नपाउँदा नमज्जा लाग्छ ।’

प्रतिक्रिया