अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका–बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबीच लन्डनले यस्तो निर्णय लिएको हो ।
बेलायती सरकारका प्रवक्ताले शनिबार जारी गरेको वक्तव्यमा अमेरिकाको समर्थनबिना कुनै पनि सम्झौता अघि नबढाइने स्पष्ट पारे । उनका अनुसार चागोससम्बन्धी कानूनी प्रक्रिया अघि बढाउने समय संसद्मा सकिएकाले तत्कालका लागि योजना रोकिएको हो ।
गत वर्ष भएको सम्झौताअनुसार बेलायतले हिन्द महासागरमा रहेको चागोस द्वीपसमूह मौरिटियसलाई हस्तान्तरण गर्ने र मुख्य टापु डिएगो गार्सियालाई ९९ वर्षका लागि भाडामा लिएर सैन्य अड्डा सञ्चालन जारी राख्ने प्रस्ताव गरिएको थियो । तर यस विषयमा अमेरिकाले उठाएको सुरक्षासम्बन्धी चिन्ताले प्रक्रिया प्रभावित भएको छ ।
डिएगो गार्सियालाई अमेरिका र बेलायत दुवैका लागि अत्यन्त महत्त्वपूर्ण रणनीतिक सैन्य सम्पत्तिका रूपमा हेरिन्छ । डाउनिङ स्ट्रिटका प्रवक्ताले यसको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु नै मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन् । उनले अमेरिका र मौरिटियससँगको संवाद भने जारी रहने जानकारी दिए ।
यसअघि ट्रम्पले उक्त सम्झौताप्रति तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘ठूलो मूर्खता’ भन्दै आलोचना गरेका थिए । उहाँले बेलायतले बिना कारण यस्तो महत्त्वपूर्ण टापु छाड्न लागेको आरोप लगाउँदै यस कदमलाई चीन र रुसले कमजोरीका रूपमा व्याख्या गर्न सक्ने चेतावनी दिएका थिए ।
बेलायतले डिएगो गार्सियालाई हालै इरानसँग सम्बन्धित क्षेत्रीय तनावका क्रममा ‘रक्षात्मक अपरेसन’ का लागि अमेरिकालाई प्रयोग गर्न अनुमति दिएको थियो, जसले यसको रणनीतिक महत्त्व झनै स्पष्ट पारेको छ ।
यद्यपि, बेलायती प्रधानमन्त्री किर स्टार्मरले यसअघि अन्तर्राष्ट्रिय कानूनी निर्णयहरूले चागोसमा बेलायतको दाबी कमजोर बनाएको तर्क गर्दै मौरिटियससँगको सम्झौता आवश्यक रहेको बताउनुभएको थियो । सन् २०१९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले पनि चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्न सिफारिस गरेको थियो ।
इतिहासतः, १९६० को दशकमा मौरिटियस स्वतन्त्र भएपछि पनि बेलायतले चागोस टापुहरू आफ्नो नियन्त्रणमा राखेको थियो । त्यसक्रममा हजारौँ स्थानीय बासिन्दालाई जबरजस्ती विस्थापित गरिएको थियो, जसका कारण लामो समयदेखि क्षतिपूर्तिको माग गर्दै कानूनी लडाइँ जारी छ ।
हालका लागि चागोस सम्झौता पूर्ण रूपमा खारेज भने गरिएको छैन । सरकारी अधिकारीहरूले भविष्यमा नयाँ विधेयकमार्फत यसलाई पुनः अघि बढाउन सकिने सङ्केत दिएका छन् । तर संसद् विघटन हुनुअघि आवश्यक कानूनी प्रक्रिया पूरा नहुने निश्चित भएको छ ।
यसबीच, प्रस्तावित सम्झौताअन्तर्गत बेलायतले तिर्नुपर्ने वार्षिक भाडा रकमबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, वार्षिक करिब नौ करोड पाउन्ड खर्च हुने अनुमानलाई सरकारले खण्डन गरेको छैन ।
















NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया