बुधबार, जेठ ७, २०८२

एमाले विभाजन

केपी-माधवको ‘डिभोर्स’

पाँच दशक लामो राजनीतिक सहकार्यमा ‘डिभोर्स’को कोर्स पूरा गर्दै छिन्नभिन्न

रामकृष्ण अधिकारी २०७८ भदौ २ गते १६:४३

‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन् । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने । अब माधव नेपाल जस्ता आन्दोलनविरोधी, देशद्रोहीहरूलाई कुनै ठाउँ छैन, यहाँ । अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन। उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने, अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन नि, यस्ता तत्वहरू नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउने छ। जाउँन ।

  • केपी शर्मा ओली

‘केपी ओलीले पार्टीभित्र माधव नेपालका निम्ति ढोका बन्द भयो भनिसक्नु भयो । उहाँले हिजो भएका सहमति पालना गर्ने पक्षमा छैन भन्नु भयो । मलाई गद्दारको उपाधि दिनु भएको छ । देशद्रोही भन्नु भएको छ र अनेक आरोप लगाउनु भएको छ । उहाँ पार्टी विभाजन गर्न उद्यत हुनु भयो । आफू नै सर्वेसर्वा र शक्तिशाली अनि ज्ञानगुनको महासागर भएको ठान्दै अरूलाई पूरै अपमान गर्ने गरी ओली अगाडि बढ्नु भयो । पार्टीलाई यो अवस्थामा पुर्‍याउने काम केपी ओलीले गर्नु भयो । अब हामीले फेरि नयाँ पार्टी खोलिहाल्याैँ भने एकताको ढोका खुल्ला हुनेछ, ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ । तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

  • माधव कुमार नेपाल

०००

मंगलबार एमालेका दुई शीर्ष नेताले एक-अर्काप्रति लक्षित रहेर दिएका अभिव्यक्ति हुन्, यी । पाँच दशक लामो राजनीतिक सहकार्यमा ‘डिभोर्स’को कोर्स पूरा गर्दै छिन्नभिन्न हुन खोज्दा केपी शर्मा ओली र माधव कुमार नेपालको दिमागमा एकै पार्टीका ‘सहयात्री’प्रति कतिसम्मको हेयको भाव विकास भएको छ भन्ने यी दुई अभिव्यक्ति मात्रैले नै पुष्टि गर्छ ।

कुनै समय थियो, यी दुई नेताका मञ्जिल एकै थिए । तर, अहिले बाटो मोडिन खोजेको छ । संसद छलेर १६ महिनाअगाडि २०७७, वैशाख ८ गते केपी ओलीले नै राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याएका थिए । आफ्नै दलभित्र र बाहिर तीव्र विरोध र संघीय समाजवादी दलको विभाजन टरेपछि ओलीले फिर्ता लिएको अध्यादेशकै सहारा लिएर देउवाले ओलीकै पार्टी फुटाइदिने अध्यादेश ल्याइदिए।

कार्यकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसका आधारमा आफ्नो कार्यालयमा पुगेको अध्यादेश राष्ट्रपतिलाई ‘तितो’ लागे पनि उनले आजै प्रमाणीकरण गरिदिएकी छन् । त्यही कानुनी त्यान्द्रोमा टेकेर ओली-नेपालले पाँच दशक लामो राजनीतिक यात्रामा ‘डिभोर्स’को कोर्श पूरा गर्ने छन् ।

हुन् त ओली-नेपाल सम्बन्धमा अनेक पटक खटपट एकै पार्टीमा रहँदा नदेखिएका होइनन् । तर, ‘सम्बन्ध विच्छेद’को यो तहमा यी दुई नेता ओर्लिएका थिएनन् । ठूला-ठूला असहमतिका पर्खाल पनि नेताहरूले एकै पार्टीमा रहेर सँगै मिलेर नफोडेका होइनन्, तर योपटकको पहाड फोर्न न ओलीले सक्ने देखिए, न माधव नेपालले नै ।

बरु अलग बाटो लागेर पछि ओली सुध्रिए एकता हुन सक्ने, चुनावमा सिट बाँडेर लड्न सकिने र तीन महिना एक वर्षपछि भेट पनि हुन सक्ने माधव नेपाल बताउन थालेका छन् । ओली पनि माधव नेपाल जस्तालाई पार्टीमा अब ठाउँ नरहेको घोषणा गर्न थालेका छन् ।

नेकपादेखि एमालेसम्म विवादै विवाद

एमाले-माओवादीले २०७४ मा चुनावी गठबन्धन बनाउनेदेखि पार्टी एकता गर्नेसम्मको ‘मोडल’मा सम्झदारी जुटाउँदा ओली र प्रचण्डका आ-आफ्नै स्वार्थ थिए । प्रचण्डलाई कम्युनिष्ट पार्टी एउटै बनाएर त्यो पार्टीको पनि नेतृत्व लिएर हिड्ने महत्वकांक्षा थियो । ओलीसँग भने नवौँ महाधिवेशनदेखि झाँगिदै आएको गुटबन्दी र पार्टीभित्र भत्किदै गएको माधव नेपालसँगको सम्बन्धलाई पन्छाएर नयाँ राजनीतिक धुव्र निर्माण गर्ने र आफू थप शक्तिशाली बन्ने महत्वकांक्षा थियो ।

त्यही ओली-प्रचण्ड स्वार्थका कारण एमाले माओवादी एक बनाउने सम्झदारी जुटेको थियो । तर, पार्टी एकतापछिको चार महिना नपुग्दै नेताहरूको कार्य विभाजनसँग सम्बन्धित रहेर ओली र नेपालका बीचमा ‘टसल’ शुरु भएको थियो । अन्ततः ओली एकातिर र प्रचण्ड-माधव नेपाल अर्काेतिर देखिने गरी नेकपाभित्र समीकरण जुट्न थाल्यो ।


ओली र नेपालबीचको सम्बन्ध यतिसम्म बिग्रियो कि, ओली उपचारका लागि विदेश जान लाग्दै गर्दा बसेको तत्कालीन नेकपाको सचिवालय बैठकमा नेपालले दिएको स्वास्थ्य लाभको शुभेक्षासम्म ओलीलाई ग्राहय भएन । त्यसपछिका ‘तिता सम्बन्ध’मा कहिल्यै सुधार हुन सकेन ।

२०७६ पुस २३ मा ओलीविरुद्ध नेकपाका तत्कालीन सचिवालयका बहुमत सदस्यले बामदेव गौतम निवास भैँसीपाटीमा मोर्चाबन्दी शुरु गरे र त्यसको काउन्टरमा ०७६ माघ १५ देखिको पार्टी केन्द्रीय समिति बैठकलगत्तै गौशलाको ‘मदन भण्डारी फाउण्डेसन’मा ओली पक्षले अलग्गै भिड्ने रणनीति बनाएपछि भने देखिने गरी नेकपाभित्र संर्घष शुरु भयो । त्यसले अन्तत: ०७७ को वैशाख ८ मा दल विभाजन अध्यादेश ओलीले ल्याउने निर्णय लिए ।

त्यसपछि शुरु भएको नेकपाभित्रको संर्घषको कथाले वर्ष दिनभरि नै उत्कर्षको रुप लियो । ओली एकातिर र प्रचण्ड-नेपाल अर्काेतिरको मोर्चा जम्दै गयो । ओलीले संसद नै विघटनसम्मको निर्णय लिए ।

त्यसलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड नेपाल दिनदिनैको बालुवाटार वार्ता, झगडा छोडेर सीधै सडक संर्घषमा उत्रिए । ओली पक्षले प्रचण्ड-नेपाल र प्रचण्ड-नेपाल पक्षले ओलीलाई कारबाही गर्ने शृङ्खलासम्म चल्यो । त्यहीबेला सर्वाेच्चले एमाले र माओवादीको एकता ‘बदर’ गरिदियो । झण्डै-झण्डै राजनीतिक जीवन नै दाउमा परिसकेका ओलीका लागि राहत मिल्यो । त्यसपछिको ६ महिनाको संर्घष फेरि एमालेभित्र रहेर ओली र नेपालका बीचमा दोहोरिनै रह्यो । त्यही घर झगडाले अहिले ओली र नेपाल डिभोर्सको चरणमा पुगेका छन् ।

यी मोडमा सँगै थिए ओली–नेपाल

नेकपा एमालेमा अहिले जस्तै परिस्थिति २४ वर्षअगाडि पनि थियो । महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणमा मतभिन्नता भएपछि एमाले पहिलोपटक विभाजित हुन पुगेको थियो । तर, विभाजनको चोटलगत्तैको निर्वाचनमा खाएपछि फेरि एकताबद्ध भएको थियो । त्यो विभाजनमा समेत एकै ठाउँ रहेर मुकाविला गरेका ओली र नेपाल नै अहिले अन्तत विभाजित हुन खोजेका हुन् ।

ओली र नेपालका बीचमा खास-खास अवस्थामा सहकार्य थिए । एमाले-माओवादीको एकताअगाडिसम्म मूल स्पिरिटमा यी दुई नेता जहिल्यै एक ठाउँमा थिए । आन्दोलनका मूलभूत एजेण्डामा समनता र सहकार्य दुवै नेताका बीचमा थियो । जनताको बहुदलीय जनवाद, महाकाली सन्धि, पार्टी एकता र तत्कालीन माओवादीलाई हेर्ने दृष्टि कोणसम्ममा दुवै नेता एकै ठाउँमा थिए ।

पार्टीभित्रै माओवादी मुद्दा सम्बोधन गर्नु पर्नेमा बामदेव गौतम-झलनाथ खनाल देखिन्थे । तर, ओलीले नै नेपाल नेतृत्वको सरकारको ‘रक्षाकवज’को भूमिका निर्वाह गरेका थिए ।

माओवादी ‘जनयुद्ध’मै रहँदा माओवादीलाई हेर्ने दृष्टि कोणमा एमालेभित्र दुई धार थियो । त्यसबेला पनि ओली-नेपालको धार एउटै थियो । झलनाथ खनाल र बामदेव गौतमको अर्काे धार थियो । ०७४ को चुनावपछि दलको नेता चयनमा ओलीलाई नेपाल स्वयमले सर्वसम्मत बनाउन प्रस्ताव गरेका थिए । राष्ट्रपति निवासबाट धुम्बराहीस्थित पार्टी कार्यालयसम्म ओलीकै गाडीमा गएर दल बैठकमा नेपालले ओलीलाई संसदीय दल नेताको प्रस्ताव गरेका थिए । माओवादीसँग एकताको वार्ता चल्दै गर्दा ‘जवज’का विषयमा दुवै नेताले एकै मत राखेका थिए ।

मदन भण्डारीको रहस्यमय निधनपछि पार्टी महासचिव बन्ने बेला २०५० मा नेपाललाई ओलीले साथ दिएका थिए । नेपालले पनि ओलीलाई आवश्यकता पर्दा गुन लगाएका थिए । ०६२/०६३ को जनआन्दोलनताका आन्दोलनबाट कही पुगिदैन भनेर निस्क्रिय हुँदा ओली त्यसबेला आलोचित थिए । तर, आन्दोलन सफल भएपछि नेपालले ओलीलाई नै उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिलाएर सरकारमा पठाए । नेपाल समूहले नै ओलीलाई सरकारमा पठाउने निर्णयको विरोध गर्यो । केही नेताहरूले समूह छाड्ने चेतावनी पनि दिए । त्यसबेला नेपालसँगै रहेका अमृत बोहोरा, इश्वर पोखरेललगायतका नेताहरुले उनलाई छोडिदिए । तर, नेपाल निर्णयमा डगमगाएनन् ।

२०६६ मा नेपाल प्रधानमन्त्री बन्दा संसदमा प्रतिपक्षी माओवादी बलियो अवस्थामा थियो । उसले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै चर्काे सडक आन्दोलन गरिरहेको थियो । पार्टीभित्रै माओवादी मुद्दा सम्बोधन गर्नु पर्नेमा बामदेव गौतम-झलनाथ खनाल देखिन्थे । तर, ओलीले नै नेपाल नेतृत्वको सरकारको ‘रक्षाकवज’को भूमिका निर्वाह गरेका थिए ।

बुटवलको आठौँ महाधिवशेनमा पनि नेपाल आफू अध्यक्षमा नउठेपछि उनले ओलीलाई सघाएका थिए । तर, नवौँ महाधिवेशनमा भने ओली र नेपाल अध्यक्षमा भिडेका थिए ।

असमझदारीका शृङ्खला

मुद्दाका आधारमा एक ठाउँमा देखिए पनि यी दुई नेताका बीचमा बेमेलका पनि अनेकन शृङ्खला छन् । माओवादीसँगको एकतापछि ओलीले आफ्नो समूहलाई पेल्ने रणनीति अख्तियार गरेको आरोप नेपालको थियो । २०७५ असोज ५ को सचिवालय बैठकले गरेको प्रदेश पदाधिकारी चयन आफूसँगको परामर्शबिना विदेश गएको मौकामा गरिएकाले नमान्ने चेतावानी नेपालले शुरुमा दिएका थिए । त्यसमा उनले पछि स्वदेश आएपछि ‘फरकमत’ नै राखे ।

त्यतिमात्र होइन, ओली सरकारको नतेत्वमा रहेकै बेला माधव नेपालले संसदमै देश डुब्न लागेको भन्दै माझीको खोजी गरेका थिए । यसबाट पनि ओली नेपाल सम्बन्धमा थप तिक्तता पैदा गरेको थियो ।

ओलीले एमालेको रथ हाक्नु अगाडि यही पार्टी झण्डै १५ वर्ष माधव नेपालले नै हाँकेका थिए । मदन भण्डारीको निधनपछि नेपालले पार्टी महासचिवका रुपमा काम गर्दा पार्टीभित्र ओलीसँगै प्रतिस्पर्धा चल्थ्यो । २०५६ को संसदीय चुनाव र सातौँ महाधिवशेनका बेलामा पनि ओली-नेपालका बीचमा अन्तरविरोध चुलिएको थियो ।

त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए । तर, नेपालले दिएनन् । त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेका थिए ।

०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तिक्तता देखियो । पार्टीको आठौँ महाधिवशेनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालको पक्षमा थिए । तर बाजी मारे ओलीले । ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए । तर ०४८ देखि नै पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दल नेता पनि बन्ने परम्परा एमालेमा थियो । त्यो ओलीले भंग गरिदिए । खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिए । यसमा नेपालको ओलीसँग असन्तुष्टि थियो ।

ओलीको पहिलो प्रधानमन्त्री कालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो । त्यसबेला नेपालले ओलीको बचाउ गर्नु साटो संसदमा कार्य शैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए । त्यसपछि त झन ओली–नेपाल द्वन्द्व अस्वभाविक चुलियो ।

फरक पृष्ठभूमि

एकै राजनीतिक पुस्ताका नेता हुन्, प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधव नेपाल । विपन्न पृष्ठ भूमिबाट मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका अपवाद नेतामा गनिन्छन्, ओली । आमा गुमाएर टुहुरो भएका उनले बाल्य कालदेखि नै विषम परिस्थितिको सामना गरेका थिए । झापामा भएको अलिकति खेती पनि बाढीले बगाएपछि उनी किशोर अवस्थामै कम्युनिष्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए । उता नेपालको अवस्था भने त्यस्तो रहेन ।

ओलीका बाल्यकाल दुःखै दुःखमा बित्यो । अर्काको घरमा गोठालो बसेर उनले बाल्य कालको शिक्षा लिएका थिए । उनले उच्च शिक्षा अध्ययन पाएनन् । पढ्ने अवसरसमेत पनि उनले पाएनन् ।

ओलीको पृष्ठ भूमिभन्दा फरक छ, वरिष्ठ नेता नेपालको । बाल्य कालदेखि नै परिवारको छत्र छायामै हुर्कने र पढ्ने अवसर नेपालले पाएका थिए । त्रिभुवन विश्वविधालयबाट वाणिज्य शास्त्रमा स्नातक छन्, नेपाल । राजनीतिमा आउनुअघि केही समय उनी बैँकका जागिरे थिए । तर, ओलीले राजनीतिबाहेक अन्यलाई कहिल्यै पेशा बनाएनन् ।

पार्टी संगठनमा भने तल्लै कमिटीबाट जिम्मेवारी लिँदै माथिल्लो सर्वाेच्च पदमा पुगेका नेता हुन्, नेपाल । ओली भने २०४४ मा चौध वर्षे जेल जीवनपछि केन्द्रीय समितिमा पुगेका थिए । भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीमा नेपालको तुलनामा कम छ ।

ओलीमा वाकपटुता छ । उनी आफ्नो विचार र अडानमा स्पष्ट छन् । उखान टुक्काकै साहारा ल्एिर भए पनि भाषणका बेला नेता-कार्यकर्तालाई आफूतिर सुन्न बाध्य बनाउन सक्छन् । तर, नेपालमा ओलीको जस्तो वाकपटुताको खुबी छैन । एकै रस र लयका भाषण मात्र गर्छन्, नेपाल ।

अघि-अघि नेपाल, पछि-पछि ओली

पार्टीदेखि सरकारको मोर्चाको नेतृत्व गर्ने सर्न्दभमा अघि-अघि नेपाल र पछि-पछि ओली छन् । नेपालले सिपी मैनाली, झलनाथ खनाल र मदन भण्डारी महासचिव हुँदा दोश्रो नेताका रुपमा पार्टीमा काम गरे ।

३ जेठ २०५० मा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय मृत्युपछि उनले निरन्तर १५ वर्ष बढी पार्टीको नेतृत्व गरे । २०६४ को संविधानसभा चुनावमा पार्टी र आफूलगायत शीर्ष नेताहरूसमेत पनि पराजीत भएपछि असफलताको नैतिक जिम्मेवारी लिँदै उनले महासचिव पद त्यागेका थिए । त्यसयता उनी पार्टीको सर्वाेच्च पदमा पुग्न सकेका छैनन् ।

ओलीलाई भने पार्टीको सर्वाेच्च पदमा पुग्न नेपालले नेतृत्व लिएको २० वर्षपछि पर्खनु पर्यो। तर, संयोग ओली वरिष्ठ नेता नेपाललाई नै पराजित गरि २०७१ यता पार्टी अध्यक्षको जिम्मेवारीमा छन् । सरकारको सर्वाेच्च कार्यकारी पद प्रधानमन्त्रीमा पनि ओलीले नेपाल पछि नै पुग्ने अवसर पाए ।

नेपाल २०६६ जेठमा संविधानसभा चुनाव हारे पनि संसदमै पुगेर प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्न पाए । ओलीलाई भने त्यो अवसर दोश्रो संविधानसभाको चुनाव पछि २०७२ मा मात्र जुर्यो । त्यसपछि पनि उनी माओवादीसग चुनावी गठबन्धन र एकतासम्मले फेरि सरकारको सिँढी उक्लिए ।

तर, माधव नेपालकै ‘निर्णायक कदम’ले ओली सत्ता बर्हिगमनमा परे । यसले सम्बन्ध चिसिने मात्र बनेन् । ५ दशकको सम्बन्ध डिभोर्सको चरणमा पुगेको छ ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया