माधव नेपाल पक्षको बैठकप्रति लक्षित गर्दै जिल्ला प्रशासनले सोध्यो स्पष्टीकरण
माधव नेपाल भन्छन : वार्ताको भ्रममा नपरौँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)को बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई कोरोना भाइरस संक्रमणको बेला भिडभाड गराएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्पष्टीकरण सोधेको छ ।
यस्तै, निषेधाज्ञा उल्लंघन गरी भिडभाड गराएको भन्दै रिसोर्टलाई समेत स्पष्टीकरण सोधिएको छ । सोमबार बेलुकादेखि एकीकृत समाजवादीको भेला चलिरहेको छ । भेलामा एक सयभन्दा बढी नेताहरूको सहभागिता रहेको छ ।
निषेधाज्ञाको प्रावधिानविपरीत भिडभाड गराएको विषयमा रिसोर्टलाई प्रशासनबाट स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञाविपरीत गतिविधि नियन्त्रण गर्न प्रशासन लागि पर्ने समेत उनले बताए ।
सोमबार रिसोर्ट पुगेका नेता नेपाल पक्षको बैठक जारी रहेको छ । बैठकमा केन्द्रीय सदस्य र सांसदहरू सहभागी छन् । एमालेबाट विभाजन भएर नयाँ दल दर्ता प्रक्रियामा रहेका सो पार्टीको बुधबार निर्वाचन आयोगले सनाखत गर्ने भएको छ ।
माधव नेपालले मंगलबार बिहान आफू निकट केन्द्रीय सदस्यहरूलाई वार्ता र सहमतिको कुरा अल्मल्याउने विषय मात्रै भएकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । चन्द्रागिरिमा आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेपछि सामाजिक सञ्जालमा अपिल गरेका छन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका हुन् । पार्टी दर्ता प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई छाडेका स्थायी कमिटी सदस्यहरूबीच बालकोटमा छलफल भई १० बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ ।
तर, नेता नेपालले ती कुरा छलकपटपूर्ण रहेको बताएका छन् । ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
यता नेता नेपालसँग अलग भएका नेताहरूको माग पूरा हुने संकेत देखिएको छ । सोमबार बिहान बाल्कोटमा एमाले अध्यक्ष ओलीसँग संवाद भएपछि उनीहरू एमालेमा बस्न तयार भएका हुन् । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको छ ।
ओलीले सोमबार बिहान बोलाएर छलफल शुरु गरेका थिए । नेकपा एमाले विभाजनमा संलग्न नरहेका तर, माधव नेपाल समूहमा रहँदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरू अध्यक्ष ओलीसँग निर्णायक छलफल गर्ने भन्दै मंगलबारसम्म सबै विषय टुंग्याउन आग्रह गर्दै आएका थिए ।
तत्कालीन कार्यदलका सदस्य शंकर पोखरेल लगायतका नेताहरूसँग छलफल वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका नेताहरू १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोटबाट बोलाएपछि छलफलका लागि उनीहरू पुगेका थिए ।
उनीहरूले कार्यदलको १० बुँदे सहमतिलाई कार्यान्वयनको मोडालिटी तयार पारेर अघि बढ्ने प्रस्ताव गरेपछि त्यसका लागि ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेलले तयार पारेको मोडालिटी आजको स्थायी कमिटी बैठकमा राख्ने भएका छन् ।
एमाले बनाउन र पार्टी निर्माणमा पाँच दशक लामो संघर्ष गरेका दुई नेता राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि विधिवत रुपमै अलग भए पनि नेपालले नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । एमालेका अध्यक्ष ओली र नेता नेपालले अध्यादेश जारीपछि अलग–अलग बाटो समातेपछि नेपालले नयाँ दल खोल्न निवेदन दिए पनि नेपालसँग रहेका नेताहरूले साथ दिएका थिएनन् ।
प्रतिक्रिया