‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मंगलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् ।
कोभिड १९ को महामारीका कारण यसपाली ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजबंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेष रुपमा मनाउने गर्दछन् ।
मेचीनगर नगरपालिका वडा नं. ७ मदनबस्तीमा राजबंशी युवाले चिल्लो बासको टुप्पामा बाँधिएको नरिबल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे ।
सो प्रतियोगितामा मेचीनगर– ७ का देबलाल राजबंशी प्रथम भए । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो ।
‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यता अनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउथे । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान श्रीकृष्णको आराधना गरिन्छ ।
हिलो भएको स्थानमा अग्लो बासको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बास चढेर नरिवल र नगद हात पार्ने प्रतिष्पर्धा गर्दछन् ।
बास चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बासका टुप्पोमा पनि तेल राख्ने गरिन्छ । यसबाट चढ्न खोज्दा बास हल्लिएर झन् चिल्लो हुन्छ । स्थानीय पुनलाल राजवंशीले यो खेल परापूर्व कालदेखि चलिआएको बताए । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडको रुपमा लिने गरेका छन् ।
कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीयवासी युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दावी गरे ।
प्रतिक्रिया