सोमबार, पुष १४, २०८२

बाग्मती प्रदेशमै २५ सय बलात्कारका घटना

चार सय ७० हत्याका घटना, १२ सय बढी ठगिए

दया दुदराज २०७८ भदौ १८ गते १९:००

काठमाडौं । प्रदेश ३, जो बाग्मती प्रदेशका रुपमा नामाकरण गरिएको छ । जहाँ देशको संघीय राजधानी काठमाडौं छ र देशका १३ वटा जिल्लाहरु यसै प्रदेशमा पर्दछन् । संघीय राजधानी नजिकै भएको प्रदेशका कारण यो प्रदेशलाई अन्यको तुलनामा विकशित मानिन्छ । तर यहि प्रदेशमा २५ सय बलात्कारका घटना भएका छन् ।


नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्दा बाग्मती प्रदेशमा पछिल्लो चार वर्षमा २५ सय बलात्कारका घटनाहरु प्रहरीसँग पुगेका छन् । प्रहरीसम्म नै नपुगेका घटनाहरु त्यो भन्दा बढी छ ।


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरकाअनुसार पछिल्लो चार आर्थिक वर्षमा २५ सय वटा बलात्कारका घटनाहरु दर्ता भएका छन् ।


एसएसपी कुँवरका अनुसार बाग्मती प्रदेशमा आर्थिक वर्ष २०७४/०७५मा ५ सय ४० वटा, आर्थिक वर्ष २०७५/०७६मा ६ सय ५२ वटा, आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ६० वटा र आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ५५ वटा गरी ४ आर्थिक वर्षमा २५ सय वटा बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन् । जसमध्ये, ११ सय ९३ वटा घटनाहरु उपत्यकामा दर्ता भएका छन् ।


१९ सय ५४ वटा घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्य जाहेरीको हकमा प्रहरीले अनुसन्धान तीब्र पारेको छ ।

बाग्मतीमा मात्रै १६ हजार भन्दा बढी घरेलु हिंसा

बागमती प्रदेश अर्थात प्रदेश ३ मा पछिल्लो ४ वर्षमा मात्रै १६ हजार भन्दा बढी घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।


प्रहरी प्रवक्ता कुँवरका अनुसार पछिल्लो ४ वर्षमा मात्रै प्रदेश ३ मा १६ हजार ६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । तीमध्ये १० हजार ६ सय ९८ वटा घटना त काठमाडौं उपत्यकामै दर्ता भएका हुन् ।

आ.व. २०७४/०७५मा ३ हजार ९ सय ३६ वटा, ०७५/०७६ मा ४ हजार ६ सय १३ वटा, ०७६/०७७ मा ३ हजार ५ सय ८५ वटा र आ.व.०७७/०७८ मा ३ हजार ८ सय ७१ वटा घरेलु हिंसाका घटना दर्ता भएको प्रवक्ता कुँवरले जानकारी दिए ।


प्रहरीको तथ्याङकअनुसार आर्थिक वर्ष २०७५/०७६मा सबैभन्दा बढी घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

उपत्यकामा ठगीका घटना सामान्य

उपत्यकामा ठगीका घटनाहरु सामान्य रुपमा लिइन्छ । अन्य क्षेत्रमा मात्र होइन, प्रहरीमा नै जागीर लगाइदिने भनेर ठगी हुने गरेका घटना प्रशस्त छन् ।


वैदेशिक रोजगारीको शिलशिलामा हुने गरेका ठगी सबैभन्दा बढी रहेको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारीको आश्वासन दिएर ठगी गर्ने गरेको घटनाहरु सबैभन्दा बढी दर्ता भएको प्रवक्ता कुवरले जानकारी दिए ।


काठमाडौं उपत्यकामा मात्रै पछिल्लो ४ वर्षमा मात्रै ८ सय ८० वटा ठगीका घटनाहरु दर्ता भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।


उपत्यकामा ८ सय ८० सहित बाग्मती प्रदेशमा १२ सय भन्दा बढी ठगीका घटना भएको प्रहरी रिपोर्टमा उल्लेख छ । प्रवक्ता कुँवरका अनुसार पछिल्लो ४ वर्षमा मात्रै बाग्मती प्रदेशमा १२ सय २६ वटा ठगीका घटनाहरु दर्ता भएका छन् ।


आर्थिक वर्ष २०७४/०७५मा २ सय ६८ वटा, आ.व. ०७५/०७६मा ३ सय ४८ वटा, आ.व. ०७६/०७७ मा ३ सय २३ वटा र आ.व. ०७७/०७८ २ सय ८७ वटा गरी ४ आर्थिक वर्षमा १२ सय २६ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

हत्याहिंसाका घटना मात्रै ४ सय बढी

बाग्मती प्रदेशमा पछिल्लो चार वर्षमा हत्याहिंसाका घटना मात्रै ४ सय बढी छन् । चार वर्षको अवधिमा ४ सय ७० वटा हत्याका घटनाहरु दर्ता भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।


प्रहरीकाअनुसार, आर्थिक वर्ष २०७४/०७५मा १ सय १५ वटा, आ.व.०७५/०७६ मा १ सय २० वटा, आ.व. २०७६/०७७ मा १ सय १६ वटा र आ.व. ०७७/०७८ १ सय १९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया