सेती लोकमार्ग निर्माणप्रति प्रधानमन्त्रीले किन लिए चासो ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना तथा बहु प्रतिक्षित सेती लोकमार्गको निर्माणमा ढिलाई भएको छ । सेती लोकमार्ग निर्माणका लागि उत्तरी र दक्षिणी गरी दुई वटा योजना कार्यालय राखिएपनि अपेक्षा अनुसार निर्माण हुन सकेको छैन । सेती लोकमार्ग अन्तर्गत डिपीआर तयार भएको सेती लोकमार्गको निमार्णमा झण्डै १३ अर्ब लाग्ने अनुमान गरिएको छ ।
दक्षिणी खण्ड
सेती लोकमार्गको दक्षिण खण्ड अन्तर्गत कैलालीको टिकापुरदेखि बझाङको चैनपुरसम्म पर्छ । यो खण्डलाई पनि विभिन्न भागमा विभाजन गरिएको छ । यो खण्डमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ पर्छन् ।
यो खण्ड कैलालीको टिकापुरदेखि बौनियाँ, बौनियाँदेखि डोटीको ठुलीगाड, ठुलीगाडदेखि सेलीगाडसम्म रहेको छ । यस्तै सेलीगाडबाट अछामको साफेबगर, साफेबगरबाट भसगरकोट, भसगरकोटदेखि देविस्थान, देविस्थानबाट बाजुरा जिल्लाको भेडासैना, उनैन्सिनहुँदै बझाङको टमिलबाट चैनपुरसम्म रहेको छ ।
सेती लोकमार्गको दक्षिण खण्ड २४२ किलोमिटर रहेको छ । २४२ किलोमिटरमा खासै कुनै काम नभएको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार बिष्टले बताए । उनका अनुसार कैलालीको टिकापुरदेखि बौनियाँसम्म काम भइरहेको छ ।
यस्तै बौनियाँदेखि ठुलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम सुरु भएको छ । डोटी खण्डमा जंगलको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले रुख कटानको आदेश दिएकाले त्यो खण्डमा रुख कटानको काम भइरहेको सूचना अधिकारी बिष्टले बताए ।
अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलको लागि ठेक्का प्रक्रिया सुरु भएको बिष्टले बताए । यस्तै बाजुरा र बझाङ क्षेत्रमा चार वटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया सुरु भइरहेको उनले बताए । दक्षिण खण्ड अन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ । त्यसको काम सुरु भएको सूचना अधिकारी बिष्टले बताए ।
उनले बाँकी खण्डमा पनि ठेक्का प्रक्रियामा रहेको बताए । उनले ३० करोड थप बजेट आएकाले अन्य खण्डको पनि काम सुरु गर्ने बताए । ट्रयाक खोल्न बाँकी रहेको भन्दै उनले ठेक्का र ट्रयाक खोल्नको लागि अनुमति आइसकेको बताए ।
उत्तरी खण्ड
सेती लोकमार्ग निर्माणको कार्य दक्षिण खण्ड जस्तै उत्तरी खण्डको रहेको छ । उत्तरी अर्थात चैनपुर–ताक्लाकोट खण्डको निर्माण पनि सुस्त रहेको छ ।
कैलालीको बैनियाँबाट सुरु भएको यस लोकमार्गले डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोड्छ । त्रिदेशीय नाका जोड्ने यो सडक सुदूपश्चिम प्रदेशको गौरवको योजना हो ।
उत्तरी खण्ड बझाङको सदरमुकाम चैनपुरबाट तिब्बतको सिमाना ताकलाकोट (उरैभञ्ज्याङ)सम्म १ सय १७ किलोमिटर रहेको छ । चैनपुरबाट साइपाल गाउँपालिका धुलीसम्म दुई प्याकेजमा राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण सेवाले काम गरिरहेको छ ।
बजेट अभाव
सेती लोकमार्गले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ । कैलालीको टीकापुर नाकाबाट भारत र बझाङको ताक्लाकोट नाकाबाट चीनलाई छोएको छ । सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघिदेखि चलेको थियो । तर अहिलेसम्म अपेक्षाअनुसार काम भने भएको छैन ।
२०७२ भदौ ३१ गतेको सरकारको निर्णयानुसार सेती लोकमार्ग सडक योजनाको कार्यालय पनि खोलिएको छ । तर कार्यालयमा कर्मचारी नभएको बताइएको छ ।
सन् २०१२ मा यस आयोजनाको डीपीआर तयार भएको थियो । सरकारले सेती लोकमार्गको लागि बजेट विनियोजन गरेपनि समयमा ठेक्का नहुँदा बजेट फ्रिज हुने गरेको बताइएको छ ।
सडक डिभिजन कार्यालय अछामका अनुसार बार्षिक रुपमा ३० करोड बजेट आउने गरेको छ । तर सबै क्षेत्रको ट्रयाक खोल्न बाँकी रहेको छ ।
सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टका अनुसार ३० करोड बजेटको ठेक्का भएको र बाँकी आएको ३० करोड बजेटको ठेक्का हुन बाँकी रहेको छ । पर्याप्त बजेटको अभावले ठेक्का लगाउन नसकेको उनले बताए ।
सेती लोकमार्ग निमार्णमा प्रधानमन्त्री देउवाको चासो
प्रधानमन्त्री शेरबहादुर देउवाले सेती लोकमार्गमा चासो राखेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना ‘सेती लोकमार्ग’ लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने प्रधानमन्त्री देउवाले बताएका छन् ।
देउवाले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेश स्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सेती लोकमार्ग निर्माणको कार्यलाई तीव्रता दिने बताएका हुन् । देउवाले बजेटलाई संशोधन गरेर सेती लोकमार्गलाई प्राथमिकतामा राख्ने बताएको भेटमा सहभागी कांग्रेस नेता एनपी साउदले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले अहिले अध्यादेशबाट ल्याएको बजेटमा हामी काम गरिरहेका छौं । अब हामी पुरक बजेट ल्याउन लागेका छौं । त्यसमा सेती लोकमार्गलाई उच्च महत्व दिएर बजेट विनियोजन गरिने बताउनुभयो ।’ प्रधानमन्त्रीले सेती लोकमार्ग राष्ट्रकै गौरवको आयोजना भएकाले यसलाई विशेष रूपमा लिएको बताएको साउदले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटमा साउदको नेतृत्वमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका नेताहरू सहभागी भएका थिए । भेटका क्रममा उनीहरुले देउवालाई सेती लोकमार्ग भारत–नेपाल–चीनबीच त्रिदेशीय सम्बन्धसँगै बहुउपयोगी रहेको भन्दै सेती लोकमार्ग सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय गौरवको आयोजना भएकाले उच्च प्राथमिकतामा राखेर निर्माण कार्यमा तीव्रता दिन र पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।
जवाफमा देउवाले सेती लोकमार्गलाई छिटो निमार्ण गर्न पर्याप्त बजेट विनियोजन गर्ने बताएका थिए । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले ल्याएको बजेटलाई संशोधन गरेर पूरक बजेट ल्याउने तयारी गरेको छ ।
सेती लोकमार्गले जनतालाई सुविधा मात्र नभई बाटो पनि छोटो हुने भन्दै साउदले सेती लोकमार्गले आर्थिक लागत पनि घटाउने बताए । भारत–नेपाल–चीन जोड्ने सेती लोकमार्ग बहुउपयोगी रहेको छ । यसले कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमानाका) जोड्ने गर्छ ।
सेती लोकमार्गलाई तीव्रता दिन सरकारले उत्तरी खण्डको निर्माणका लागि बझाङको चैनपुर र दक्षिणी खण्डका लागि अछामको साँफेबगरमा छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना गरेको छ ।
तर, अपेक्षा अनुसारको काम भने हुन सकेको छैन । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने छ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्ने छ ।
यो लोकमार्ग सम्पन्न भए नेपालको चार धाम मध्येको बैद्यनाथ धाम क्षेत्र, जडीबुटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, खप्तडको प्रवर्दन तथा सहज पहुंँच हुने छ । यस्तै भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुलाई पनि सहज हुने छ ।
सेती लोकमार्ग सम्पन्न भए सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र कैलालीबाट पहाडी जिल्ला जान छोटो र सहज पनि हुने छ ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

















16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया