बञ्चरेडाँडामा फोहोर फाल्न लागिएकोमा स्थानीयको आपत्ति

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको धादिङको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारी निकायहरुले बञ्चरेडाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।
धुनिबेशी नगरपालिका १ का स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए ।
सरकार र त्यहाँका स्थानीयहरुबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरुको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्ने लगायतका माग पूरा नहोउन्जेल बञ्चरेडाँडामा फोहोर खस्न नदिने उप्रेतीले बताए ।
त्यस्तै, अर्का छत्रदेउराली ९ कटुन्जेका स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए ।
तत्काल यसले असर नगरेपनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिति सिर्जना हुने उनको भनाइ छ ।
स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्वयन हुन नसकेको पनि उप्रेतीले स्पष्ट गरे । उहाँले सरकारले लिचडको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल नै भइरहेको बेला फोहोर ल्याउन लागेकाले रोकिने स्थानीयको भनाइ छ ।
शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालकाअनुसारर, फोहोर फाल्नका लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको छ ।
फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने धितालले बताए ।
सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरेडाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ ।
तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् ।
स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने माग स्थानीयहरुको छ ।
प्रतिक्रिया