सोमबार, वैशाख ८, २०८२

आईसीसी विश्वकप क्रिकेट लिग २ः नेपाल–ओमान भिड्दै

मेरोन्यूज २०७८ असोज ३ गते १६:३५

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंंखलामा अहिले नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ ।

खेल अल अमिरात मैदानमा केही बेरमा सुरु हुँदैछ । सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

ओमान नेपाललाई लगातार चौंथो भेटमा हराउन चाहन्छ । लिग २ को सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।
यस्तै शुक्रबार भएको दोस्रो भेटमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया