मुख्यमन्त्री पोखरेलको सय दिनः ४० दिन सरकार गठनमै अलमल

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भएको छ । गएको जेठ २९ गते कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको सपथ लिएका थिए ।
मुख्यमन्त्रीको सपथ लिएसँगै ४ जनालाई मन्त्री बनाएका थिए । पाँच सदस्यीय परिषद् मन्त्रिपरिषद् बनाएका पोखरेलले सरकार गठन गर्न मात्रै ४० दिन अलमल गरे ।
पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका उनले मन्त्रीको भागबण्डा मिलाउन नसकेर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौंसम्म नै आइपुगेका थिए ।
पोखरेलले गठबन्धनमा रहेका दलहरुको असन्तुष्टीकाबीच गत साउन २८ गते मात्रै मन्त्रिपषिद्लाई पूर्णता दिएका थिए ।

पोखरेल सरकारको एक सय दिनको हनिमुन पिरियडमा आलोचना मात्रै खेपेका छैनन्, उनले ल्याएको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघदेखि प्रेस काउन्सिलले समेत आपत्ती जनाउन पुग्यो ।
सय दिन पुगेको उपलक्ष्यमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकराले भए गरेका कामको उपलब्धि सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको दाबी गरेको छ ।
नेपालमै पहिलो पटक मनाङ र मुस्ताङ जिल्ला कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेकोलाई उसले ठूलो उपलब्धी ठानेको छ ।
यस्तै, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७८ स्वीकृत गरिएको विषयलाई पनि प्रदेश सरकारको उपलब्धीका रुपमा राखिएको छ ।
यो अवधिमा कालीगण्डकी नदीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गर्नुका साथै प्रदेशमा रहेका २९० तालहरूको तथ्यांक प्रतिवेदन पेश गरिएको उल्लेख छ ।
प्रदेश सरकारको नजरमा यस्तो छ सय दिनको उपलब्धि
प्रतिक्रिया