मन्त्रिपरिषद् मात्रै होइन, ‘किचन क्याविनेट’समेत बनाउन सकेनन् देउवाले

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेका छन् । गठबन्धन सरकार भएकाले सत्ता साझेदार दलहरुबीच विवाद नमिलेर मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउने देउवाले आफ्नो सचिवालय पनि बनाउन सकेका छैनन् ।
आफू प्रधानमन्त्रीमा नियुक्त भएको मात्रै होइन, प्रतिनिधि सभाबाट विश्वासको मत लिएको समेत दुई महिना बित्दा पनि उनले किचन क्याविनेटमा माथिल्लो तहका दुई पदमा मात्रै नियुक्ति गर्न सकेका छन् । अहिलेसम्म देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खाती र प्रमुख स्वकिय सचिवमा (मुख्यसचिव सरह) भानु देउवालाई नियुक्त गरेका छन् ।
स्रोतका अनुसार कम्युटर अपरेटरमा तेजराज भण्डारीले पनि नियुक्ति पाएका छन् । तर अन्य सल्लाहकार र सहयोगीमा भने देउवाले नियुक्ति दिएका छैनन् । उनलाई प्रधानमन्त्री बनेपछि निरन्तर सहयोग गरिरहेकाहरुलाई पनि देउवाले नियुक्ति दिएका छैनन् । किचन क्याविनेटमा बस्न नाम टिपाउने र सिफारिस गर्नेको संख्या सयौँ रहेको निकटस्थ स्रोत बताउँछ । धेरैले देउवा पत्नी डा.आरजु राणा देउवा र देउवा निकट नेताहरूसँग सिफारिस गराइरहेका स्रोत बताउँछन् ।
प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार र परराष्ट्र सल्लाहकारमा धेरैले प्रयास छ । निकटस्थ स्रोतले प्रमुख राजनीतिक सल्लाहकारमा एक पदाधिकारीसहित तीन नेता लागिरहेका थिए । सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच प्रतिष्पर्धा थियो । तर प्रवक्ता शर्मा भने पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वार घोषणा गर्दै प्रचार प्रसारमा लागेर प्रमुख राजनीतिक सल्लाहकारको रेसबाट बाहिरिएका छन् । देउवाले भने नेता एनपी साउदलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएर सुदूरपश्चिममा आफूपछिको नेताका रुपमा स्थापित गर्न चाहन्छन् । साउदले भने आफू सल्लाहकार बनेर नजाने बताइसकेका छन् ।
त्यस्तै प्रेस सल्लाहकारमा गोरखापत्र संस्थानका निवर्तमा महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, प्रेस युनियनकै बहालवाला अध्यक्ष बद्री सिग्देल र देउवा यसअघि प्रधानमन्त्री बन्दा प्रेस विज्ञ भएका गोविन्द परियार लागिरहेका छन् ।
बालुवाटार स्रोतका अनुसार देउवाले आफ्नो प्रेस सल्लाहकारका लागि भने शुरुमा पत्रकार विजयकुमार पाण्डेलाई आग्रह गरेको तर पाण्डेले आफू नियुक्ति नखाने बताएपछि देउवाले आफ्नैभित्रवाट प्रेस सल्लाहकारको खोजी गरिरहेका छन् ।
उनले प्रेस सल्लाहकारको मातहात हुने गरी प्रेसमा ३ जनासम्मलाई नियुक्ति दिने र मिडिया ब्यवस्थापन गर्ने सोच राखेको बताइन्छ ।
परराष्ट्र सल्लाहकारमा यसअघि देउवा प्रधानमन्त्री बन्दा र सुशील कोइराला प्रधानमन्त्री बन्दापनि परराष्ट्र सल्लाहकार भएका डा. दिनेश भट्टराईको सम्भावना प्रवल रहेको स्रोतले बतायो । उनी पूर्वराजदूत पनि हुन् । अझ आफ्नै सासू प्रतिभा राणालाई राजदूतबाट फर्काएर परराष्ट्र सल्लाहकार बनाउने सम्भावना पनि रहेको स्रोतले बताउँछन् । अहिले डा. भट्टराई नियमित रुपमा कार्यालयमा आएर देउवालाई परराष्ट्र मामिलासम्बन्धमा सल्लाह सुझाव दिइरहेकी छन् ।
देउवाको सचिवालयमा फोटो पत्रकारका रुपमा राससका कार्यरत रोसन सापकोटाले काम गरिरहेका छन् । तर उनले पनि औपचारिक नियुक्ति पाएका छैनन् । त्यस्तै कान्तिपुर टेलिभिजनमा रहेका स्थायी जागिर छोडेर विजयराज अधिकारीले देउवालाई नियमित रुपमा कार्यालयमा पुगेर सहयोग गरिरहेका छन् । उनले पनि औपचारिक नियुक्ति पाएका छैनन् ।
सचिवालयमा केशव जोशी, विरेन्द्र थापाले पनि नियमित सहयोग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री बन्दा जोशी र थापा स्वकीय सचिव (सचिव सरह)को पदमा नियुक्त भएर काम गरेका थिए । सुरक्षा सल्लाहकार, प्रशासन सल्लाहकार, स्वास्थ्य सल्लाहकार राख्ने भनेर छलफल भए पनि कसलाई राख्ने भन्नेमा कुनै कुराकानी नभएको स्रोत बताउँछ ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमा हाराहारी ५० जनासम्म राख्न सक्छन् । तर, ठूलो सचिवालय बनाउने पक्षमा देउवा नरहेको उनी निकट नेताहरू बताउँछन् । आफूमा अहिलेसम्म सबैभन्दा ठूलो मन्त्रिपरिषद् र सचिवालय बनाउने तथा कुनै नयाँ काम गर्न नसक्ने भनेर बनाएको छबिलाई सुधार्ने गरी काम गर्ने उनले निकटस्थ नेताहरूसँग बताउने गरेका छन् ।

















सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया