मंगलबार, वैशाख २३, २०८२

के हो चीनको ‘कमन प्रोस्पेरिटी’, बाँकी संसारलाई के असर पर्छ ?

मेरोन्यूज २०७८ असोज २४ गते १०:३२

चीनले पछिल्ला केही दशकमा भव्य आर्थिक प्रगति गरेको छ । माओत्सेतुङले चीनको अर्थतन्त्रलाई स्वाबलम्बी बनाउने जग हाले । उनीपछि देङ सियाओपिङले चिनियाँ अर्थव्यवस्थालाई नयाँ दिशा दिए । जसका कारण आज चीन विश्वको प्रमुख आर्थिक शक्तिमात्रै भएको छैन, पश्चिमा देशका लागि टाउको दुखाईको विषय समेत बनेको छ ।

चीनको अर्थतन्त्र विकास गर्नका लागि केही दशकअघिसम्म योगदान गरेकाहरु अहिले कसरी चीनलाई तल खसाल्न सकिन्छ भनेर प्रयत्न गरिरहेका छन् । तर कठिनतम चुनौतीहरुको सहज व्यवस्थापनसहित चीन विश्वको प्रमुख शक्तिका रुपमा उदाइरहेको छ । चीनको बढ्दो शक्ति रोक्न अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग लामो व्यापार युद्ध गरे । तर पछिल्लो समयमा अमेरिका चीनसँग द्वन्द्व चर्काउनु अमेरिकाका लागि समेत हानिकारक रहेको निष्कर्षसहित वार्तामा जुटेको छ ।


अमेरिका र चीनबीच राजनीतिक, कूटनीतिक र सामरिक रुपमा संघर्ष लामो समयदेखि चलिरहेको छ । अमेरिकाको एसिया प्रशान्त क्षेत्रमा रहेको स्वार्थ र दक्षिण चीन सागरमाथि चिनियाँ नियन्त्रणले अमेरिका चीनसँग रुष्ट देखिन्छ । तर आर्थिक मोर्चामा चीन अब अमेरिकाभन्दा अब्बल बनेर देखा परिसकेको छ । सोही कारण हालैमात्रै चीनका एक वरिष्ठ कूटनीतिज्ञ याङ जेइचीसँग अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले स्वीट्जरल्यान्डको ज्युरिचमा भेट गरेर दुई देशबीचको मतभेद हटाउने, टकराव र द्वन्द्व रोक्ने र आपसी लाभमा जोड दिँदै द्विपक्षीय सम्बन्धलाई पुनः सही मार्गमा ल्याउने विषयमा छलफल गरेका छन् ।


ट्रम्पको कार्यकालमा अमेरिकाले चीनसँग द्वन्द्व बढाउनेगरी ताइवानसँग सम्बन्ध अघि बढाएका थिए । पछिल्लो समयमा ताइवानसँग तनाव बढेका बेला अमेरिकी र चिनियाँ अधिकारीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा शान्तिपूर्ण रुपमा मिलाउन चीन दृढ रहेको बताइसकेका छन् । ताइवानमाथि चीनको आक्रामकताका बाबजुद ट्रम्पको कार्यकालमा बिग्रिएको सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिएको छ ।


पुँजीवाद वरिपरीको चिनियाँ अर्थतन्त्र


चीनको अर्थतन्त्र पछिल्ला केही दशक पुँजीवादको वरिपरी घुम्यो । कम्युनिस्ट पार्टीको सत्ता भएको देशको अर्थतन्त्रमा पुँजीवादले नराम्ररी जरा गाड्यो । देङको आर्थिक नीतिसँगै चीनमा प्रतिक्रान्ति भएको र पुँजीवादतिर प्रवेश गरेको ठान्नेहरु धेरै छन् । तर चीनले यही पुँजीवादबाट आफूलाई अब्बल अर्थतन्त्रमा विकसित ग¥यो । चीनमा पछिल्लो समयमा सत्ता ‘साम्यवादी’ र अर्थव्यवस्था पुँजीवादी स्वरुपमा अघि बढेका थिए ।
चीनमा धनी उद्योगपतिहरुलाई आफ्नो फाइदा समाजको मध्यम र तल्लो वर्गसम्म पु¥याउन प्रोत्साहित गरियो । यसबाट चीनमा व्यक्तिगत सम्पत्तिको सिद्धान्तले राम्रोसँग फुल्न र फल्न पायो । यसबाट चीनमा धनीहरुको धनमा पनि तीव्र विकास भयो र मध्यम र तल्लो वर्गमा मानिसको जीवनस्तरमा पनि धेरै सुधार देखियो ।


साझा समृद्धिको नारा


७० को दशकको आर्थिक निष्क्रियताको अवस्थाबाट उक्सिएर चीन आज विश्वको आर्थिक महाशक्ति अमेरिकालाई चुनौती दिने अवस्थामा आइपुगेको छ । तर चीनले राजनीतिक व्यवस्था र अर्थव्यवस्थाबीचको यो भिन्नताको मूल्य चुकाउनुपरेको छ । चीनमा धनी र गरिबबीचको खाडल गहिरो बन्दै गएको छ । यो असमानता अहिले बच्चाहरुमा समेत देखिन्छ । ८० को दशकमा जो उद्योगहरुमा काम गर्दथे, उनीहरुले यसको असीमित फाइदा पाए । आज उनीहरुका छोराछोरी चमकदार सहरमा तडकभडक वाला जीवन बिताइरहेका छन् ।


चिनियाँ गुणको साम्यवादी यो अवधाराणले यस्तो समाज चलाउन छुट दियो, जुन कुनै अर्थमा पनि समाजवादी लाग्दैन । तर अब चिनियाँ राष्ट्रपति सी जिनपिङ यो यात्राबाट नयाँ दिशातिर देशलाई मोड्न कोशिस गरिरहेका छन् । सीको नेतृत्वमा चीनमा पुनः साम्यवादी व्यवस्थातिर फर्काउने कोशिस भइरहेको छ । यसका लागि चीनले कमन प्रोस्पेरिटी अर्थात साझा समृद्धिको नारा अघि बढाएको छ । चीनले यसलाई वर्तमान समयमा चीनको आर्थिक विकास अनुकूल रहेको बताएको छ । आलोचकहरुले भने चिनियाँ सरकारको नयाँ नीतिले देशमा व्यापार र समाजलाई बढी नियन्त्रित गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।


चीनबाहिर हुनसक्छ असर

चीनको साझा समृद्धिको नाराले एकपटक अर्थव्यवस्था पुनः चीनभित्र केन्द्रित हुनेछ । चिनियाँ व्यवसायको पूरा ध्यान घरेलु बजारमा हुने भएकाले बाँकी संसारलाई समेत यसले असर पार्नेछ । वैश्विक बजारमा नै बलियो उपस्थिति देखाइरहेको चिनियाँ कम्पनी अलिबाबाले अब चीन सरकारको ‘कमन प्रोस्पेरिटी’ योजनाअनुसार १५.५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । जसका लागि कम्पनीले वरिष्ठ अधिकारी ड्यानिल जांगको नेतृत्वमा टास्कफोर्स नै गठन गरेको छ ।


कम्पनीले भनेको छ, ‘देशको आर्थिक वृद्धिका लागि फाइदाजनक हुनेछ । यदि समाज आर्थिक रुपमा बलियो भयो र अर्थव्यवस्था राम्रो भयो भने अलिबाबाले पनि राम्रोसँग काम गर्न सक्नेछ ।’ चीनको अर्को ठूलो कम्पनी टेन्सेन्टले पनि यो अभियानमा ७ अर्ब ७५ करोड लगानी गरेको छ । सुरुमा राष्ट्रपति सीले यो योजना घोषणा गर्दा निजी कम्पनीहरुका लागि ठूलो झट्काका रुपमा हेरिएको थियो । तर अब चिनियाँ कम्पनीहरुले सरकारसँग काँधमा काँध मिलाएर अघि बढेको देखाउनका लागि पनि सरकारी योजनामा हाम फालेका छन् ।


सरकारी योजनामा सामेल एक कम्पनीले भनेको छ, ‘अब हामी यो विचार बल्ल बुझ्दैछौं । यो धनीलाई लुट्ने होइन, समाजलाई पुनर्गठन गर्ने र मध्यमवर्गको पुनर्निर्माणका लागि हो । हामी कन्ज्युमर बिजनेसको हिस्सा हौं । यसकारण यो हाम्रो लागि राम्रो हो ।’ यसरी चीनको अर्थतन्त्र पुनः एक पटक चिनियाँ बजारमा फर्किने योजना सरकारले ल्याएको छ । यसलाई चीनको नयाँ समाजवादी अर्थतन्त्र निर्माण गर्ने योजनाका रुपमा हेरिएको छ । चीन बाहिरको बजारले भने एकपटक झट्का बेहोर्न सक्छ ।

प्रतिक्रिया