आइतबार, वैशाख १३, २०८३

विद्यालय भवन निर्माण सुरु

मेरोन्यूज २०७८ कार्तिक ५ गते ८:३२

म्याग्दी । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला–३ मा रहेको विद्याज्योति माविको १० कोठे दुईतले भवन निर्माणका लागि विकास बेल्जियमले ७५ प्रतिशत र गाउँपालिकाले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।

Advertisement
NiccNicc

दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्शन इञ्जीनियरिङले ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर सुनिल बानियाँले बताए । विसं २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधिले निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको बताएका छन् । विद्यालयका प्रअ रघु आचार्यले पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको बताए ।

भवन योजना भित्र्याउन मल्लाजका रामबहादुर विक, टेकबहादुर बरुवाल र म्याग्दीको ताकम घर भई हाल बेल्जियममा रहनुभएका ज्ञान विश्वकर्माले पहल तथा समन्वय गरेका थिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । नयाँ भवन निर्माण भएपछि पठनपाठन र शैक्षिक गतिविधिमा सहज हुने शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीको अपेक्षा छ ।

प्रतिक्रिया